काठमाण्डौं,उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि ’डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान गएको दाबी गरेको हो ।यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । यस्तै, ती बालबालिकाले डाक्टरको प्रेसक्रिप्सन एवं सल्लाह बिना नै अधिक मात्रामा औषधि खाएको पनि उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।विश्व स्वास्थ्य संगठनले बालबालिकाको ज्यान गएको घटनाको छानबिन र अनुसन्धानका लागि उज्बेकिस्तानलाई सहयोग गर्ने जनाएको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।



















