जनकपुरधाम ,मधेश प्रदेश सरकारमा एमाले, जसपा र जनमत पार्टीले दाबी गरेका छन ।केन्द्रमा भएको सत्ता समीकरण हेरफेरको प्रत्यक्ष असर मधेश प्रदेशमा पनि परेको छ ।यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने तयारी भइरहेको बेला अब नेकपा एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले सरकारमा दाबी गरेका छन् । संघीय सरकारलाई समर्थन गरेका जसपा र जनमत पार्टी दुबै मधेशका निर्णायक दल हुन् । त्यसैले यी दुईमध्ये एक दलको नेतृत्वमा सरकार बन्ने संभावना बलियो छ ।संघमा सुरु भएको राजनीति समीकरण अनुसार मधेश प्रदेशमा पनि राजनीतिक कोर्ष अघि बढ्ने छ । यसअघि मधेश प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न कसरत गर्दै थियो ।मुख्यमन्त्रीको दौडमा कांग्रेस सभापति समेत रहेका नवनिर्वाचित सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव प्रवल दाबेदार थिए ।अब यो प्रदेशमा संघमा हुने भागवण्डाको सहमति अनुसार नै कुन दल नेतृत्वको सरकार बन्ने तय हुने नेताहरु बताउँछन् ।प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट छ । प्रदेशसभामा ६ स्वतन्त्र सांसदसहित १० दलको प्रतिनिधित्व छ । सरकार निर्माणको लागि आवश्यक बहुमतको लागि ५४ सिट आवश्यक पर्छ ।प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल हो । दोश्रो २२ सिटसहित कांग्रेस, १६ सिटसहित जसपा तेश्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल छ ।६ जना स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकएक सिट छ ।केन्द्रमा भएको तालमेलबीच अनुसार मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा सदस्यको संख्या जोड्छ ६२ पुग्छ ।मधेश प्रदेशमा चारवटा दलले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । एमाले, जसपा, जनमत र माओवादी केन्द्र नेतृत्वको लागि लविङ् थालेका छन् । एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले ठूलो दलको हैसियतले मधेश प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको बताउनुभयो । ‘मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमाले छ । स्वभाविक रुपमा अब एमालेले सरकारको नेतृत्व गर्छ’, उहाँले भन्नुभयो । यद्यपि केन्द्रमा दलहरुबीच हुने सहमति अनुसार कोर्ष अगाडि बढ्ने उहाँको भनाइ छ ।मण्डल एमालेबाट दलको नेताका दाबेदार हुुनुहुन्छ । उहाँका अलावा सरोज यादव, हरिनारायण महतो र राजकुमार लेखी पनि एमालेको दलको नेताका आकांक्षी हुन् ।मधेशमा सरकार नेतृत्वको दोश्रो सम्भावित दल जसपा हो । सत्ता समीकरण फेरिएपछि यो प्रदेशमा जसपा निर्णायक दल बनेको छ । अन्य प्रदेशहरुमा पनि जसपाको उपस्थिति छ । तर कमजोर छ । बलियो उपस्थिति मधेश प्रदेशमा भएकाले सरकारको नेतृत्व आफूहरुले नै गर्न पाउनु पर्ने प्रदेश सांसद रामअशिष यादवको तर्क छ ।‘जसपा मधेश प्रदेशमा निर्णायक दल हो । अन्य प्रदेशमा हाम्रो उपस्थिति कम छ । बढी यो प्रदेशमै भएकाले अन्य ठाउँमा सहयोग गरेर यहाँ हामीले नेतृत्व गर्ने हाम्रो दावी रहन्छ’, जसपाका निवर्तमान संसदीय दलका उपनेतासमेत रहेका यादवले भन्नुभयो । उहाँसहित जसपमा यसपटक मुख्यमन्त्री लालबाबु राउत र सभामुख सरोज यादव पुनः दलका नेताका आकांक्षी हुनुहुन्छ ।मधेश प्रदशसभामा जसपापछिको दोश्रो निर्णायक दल हो जनमत । देउवा नेतृत्वकै गठबन्धनदेखि जनमतले मधेश प्रदेशमा मुख्यमन्त्रीको लागि बार्गेनिङ गर्दै आएको छ । कांग्रेस र एमालेका शीर्ष नेतालाई भेटेर डा. सिके राउतसहित जनमतका नेताहरुले मधेश प्रदेशमा मुख्यमन्त्री दिनुपर्ने शर्त राख्दै आएका छन् । एक पद मात्रै भए पनि मधेश प्रदेशमा जनमतलाई मुख्यमन्त्री जसरी पनि चाहिने प्रदेश सांसद बसन्त कुशवाहा बताउँनुहुन्छ ।जनमतमा कुशवाहा पनि दलका नेताका दाबेदार हुनुहुन्छ । उहाँका अलावा प्रदेश सांसद शतिस सिंह, चन्दन सिंह, त्रिभुवन साह, सञ्जय यादव पनि दलका नेताका दाबेदार छन् ।माओवादीले पनि यो प्रदेशमा नेतृत्वको दाबेदार छ । माओवादीका निवर्तमान संसदीय दलका नेता समेत रहेका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आफ्नो पार्टीको पनि नेतृत्वको दाबी रहेको बताउनुभयो । संघमा हुने भागवण्डा अनुसार नै यहाँ सरकारको नेतृत्व कुन दलले गर्ने तय हुने उहाँको पनि भनाइ छ । यो प्रदेशमा चार दलले नेतृत्वको दावी गरे पनि जसपा र जनमत पार्टीको नेतृत्वको बढी सम्भावना रहेको देखिन्छ । अन्य प्रदेशमा यी दुई दलको न्युन र यो प्रदेशमा बढी रहेकाले आलैपालो भए पनि दुबै दलले सरकारको नेतृत्व गर्ने गरी संघमा सहमति हुने प्रवल सम्भावना रहेको माओवादीका एक प्रदेश सांसदको तर्क छ ।मधेश प्रदेशमा नवनिर्वाचित प्रदेश सांसदहरुको सपथ हुन बाँकी नै छ । कहिले सपथ ग्रहण समारोह राख्ने भन्ने विषयमा टुंगो लगाउन सोमबार प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्दै छ ।सम्भवतः आइतवार सपथ ग्रहणको समय तय हुने सम्भावना रहेको नेताहरु बताउँछन् । सपथ समारोह एकदिन अघि प्रदेशसभा मध्येका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोविन्दबहादुर न्यौपानेलाई सपथ ग्रहण गराइने प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसपछि उनले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने तयारी छ ।

















