वीरगञ्ज । रौतहटमा अवैध क्रसर उद्योगीहरुको आक्रमणबाट पत्रकार राकेश यादव घाइते हुनुभएको छ ।वृन्दावन नगरपालिका वडा नम्बर १ मा मापदण्ड विपरीत सञ्चालित शिवम क्रसर उद्योगमा समाचार सङ्कलनका लागि पुगेका हिमालयन टेलिभिजनका रौतहट संवाददाता समेत रहेका पत्रकार यादवमाथि क्रसर सञ्चालक र उनका कर्मचारीहरूको समूहले साङ्घातिक आक्रमण गरी घाइते बनाएका हुन् ।शिवम क्रसर उद्योगमा खोलाबाट उत्खनन गरिएका नदीजन्य वस्तु अवैधमा थुपारिएको तथा जिल्ला अनुगमन समितिबाट स्टक परीक्षण नगराईकन बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि त्यसै विषयमा समाचार सङ्कलनका लागि त्यहाँ पुगेको बेला पत्रकार यादवमाथि आक्रमण गरी उहाँको क्यामेरा पनि फुटाइएको थियो ।घटनामा संलग्न मध्ये क्रसर उद्योगका ३ जना कर्मचारीलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले सोमवार साँझ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका– १४ का राजदेव ठाकुर, सर्लाहीको बरहथवा नगरपालिका– १८ का महेश चौधरी र वृन्दावन नगरपालिका– ४ हरैयाका राधेश्याम यादव रहेका छन् ।यसैबीच नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव मदन ठाकुरले एक विज्ञप्ति जारी गरेर घटनामा संलग्न शिवम क्रसर उद्योगका कर्मचारीमाथि कडा कारबाही गर्न माग गर्नुभएको छ ।