जनकपुरधाम,मधेश प्रदेशमा सत्ताको नेतृत्व गर्ने जनमत पार्टी र सरकारमा सहभागी हुन खोजेका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सरकार बाहिर रहेर समर्थन गर्न तयार भएका छन् ।कांग्रेस संसदीय दलका अनुसार जनमत पार्टीले चार मन्त्रालयमा सहभागी गराउने प्रतिबद्धता जनाएको थियो । तर, जनमत पार्टीले अर्थ मन्त्रालय आफैं राख्ने र पार्टीबाट थप एक मन्त्री बनाउने प्रस्ताव राखेपछि सत्ता समीकरणले पूर्णता पाउन सकेको छैन ।

लोसपाले पनि केन्द्रीय तहमा भएको सहमतिअनुसार मुख्यमन्त्री सतिशकुमार सिंहले दुई मन्त्रालय दिन नखोजेपछि पार्टीलाई सरकारमा जान असहज भएको जनाएको छ ।नेपाली कांग्रेस मधेशका सभापति एवम् मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले यथास्थितिमा कांग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । उहाँले पूर्वसहमतिअनुसार जनमत पार्टीले अर्थ, जलस्रोत, सिँचाइ तथा खानेपानी, भूमि व्यवस्था, कृषि तथा सहकारी र श्रम तथा यातायात वा उद्योग, वाणिज्य तथा पर्यटन गरी चार मन्त्रालय माग गरेको र त्यसमा अर्थ मन्त्रालय दिन मुख्यमन्त्री सिंह तयार नभएको र आफैँ राख्ने जानकारी गराएपछि आफूहरू सरकारमा सहभागी नभएको बताउनुभयो ।
‘सहमतिअनुसार मन्त्रालय नदिइए सरकारमा जाँदैनौँ, कांग्रेस संसदीय दलका नेता यादवले भन्नुभयो, मुख्यमन्त्रीलाई विश्वासको मत दिइसकेका छौँ । अहिले सरकार बाहिरबाटै समर्थन गर्नेछौँ ।’
यता मुख्यमन्त्री सिंहले कांग्रेसका लागि मन्त्रालयको संख्या मात्र तोकिएको र मन्त्रालय बाँडफाँटका बारेमा प्याकेजमै सहमति गर्नुपर्ने बताउँदै दलहरूलाई उक्त कुरा बताउनुभयो । उहाँले प्याकेजमै सहमति हुँदा सबै दलका लागि सहज हुने हुँदा त्यस्तो कुरा गरेको प्रस्ट्याउनुभएको छ ।मुख्यमन्त्री सिंहले सरकारमा दलीय सहभागिताको विषय केन्द्रीय तहमा पुगिसकेकाले त्यहाँबाट हुने निर्णयअनुसार नै सरकार गठन प्रक्रियाले पूर्णता पाउने जानकारी दिनुभयो ।

















