सिमरा,बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका इच्छाबहादुर वाग्लेको घरदैलो र चुनावी प्रचारमा नेपाली कांग्रेसका कार्यकर्ता खुलेर लाग्न थालेका छन् ।
कांग्रेस कार्यकर्ताकै आग्रहपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनाव प्रचार सुरु गर्नुभएका वाग्लेको पक्षमा पछिल्लो समय कांग्रेसका नेता कार्यकर्ता र समर्थक खुलेर लाग्न थालेका हुन् । सत्ता गठबन्धनको सिट बाँडफाडमा नेकपा एकिकृत समाजवादीको भागमा परेको क्षेत्र नम्बर ४ मा किसान श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । यसअघि वाग्लेको चुनावी अभियानलाई मौन समर्थन गर्दै आएका कांग्रेसका सक्रिय कार्यकर्ताहरु अहिले सार्वजनिक कार्यक्रममा सहभागी भएर वाग्लेको पक्षमा मतदान गर्न अनुरोध गरिरहेका छन् ।
बारा क्षेत्र नं. ४ मा कांग्रेस उम्मेदवारविहिन भएपछि कांग्रेसका नेताकार्यकर्ता रुष्ट छन् । गठबन्धनले कांग्रेसको अस्तित्व समाप्त हुने गरी निर्णय गरेको भन्दै असन्तुष्ट कांग्रेसका नेताकार्यकर्ताको आग्रहपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । वाग्लेको उम्मेदवारीले बारा ४ मा चुनावी रौनक थप्नुका साथै आफूहरुलाई समेत उत्साहित बनाउन थालेको कांग्रेसका नेता कार्यकर्ताले बताउन थालेका छन् । पार्टीको आधिकारिक उम्मेदवार नभए पनि लामो समय कांग्रेसको राजनीति गरेका वाग्लेको उम्मेदवारी आफूहरुका लागि मतदान गर्ने विकल्प रहेको कांग्रेसका जीतपुरसिमरा नगरका पूर्वसचिव सुशिल ढोडारीले बताउनुभयो ।
कांग्रेस कार्यकर्ताको सहभागितासहित वाग्लेले अमलेखगंज र सिमरा क्षेत्रमा घरदैलो सम्पन्न गर्नुभएको छ । घरदैलोमा स्थानीयको उत्साह जनक सहभागिता रहेको थियो । पछिल्लो समय बलियो जनमत साथमा लिएर चुनाव प्रचार गरिरहनुभएका वाग्लेको उम्मेदवारीले बारा ४ मा प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका उम्मेदवार इकवाल मिया, सत्तागठबन्धनका श्रेष्ठ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।