मंगलबार बाराको निजगढमा मन्तब्य राख्दै प्रचण्ड ।

कृष्णउदास खनाल

गोरखा (भच्चेक),आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि यसपाली गोरखा २ बाट आफ्नो उम्मेदवारी दिनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यसपालीको चुनावमा तनाबरहित देखिनु भएको छ ।

प्रचण्डले आफू तनाबमा नरहेको कुरा केही दिन अगाडि मात्रै गोरखाको भच्चेकमा आएर केही मतदाता माझ समेत व्यक्त गरिसक्नु भएको छ । उहाँले यसो भन्नुको पछाडि काँग्रेससंगको गठबन्धन नै हो । नेपाली काँग्रेस मुख्य प्रतिस्प्रर्धी रहेको गोरखा २ मा काँग्रेससंग नै गठबन्धन भएपछि प्रचण्डलाई रातमा अहिले राम्रोसंग निन्द्रा लागेको हो ।

प्रण्डलाई चुनाव जित्न समस्या नभए पनि मत चैं कति आउछ भन्ने कुरा महत्वपूर्ण भएको माओवादी गोरखाका नेताहरुले बताएका छन् । गोरखा २ मा काँग्रेसबाट नै दुईजना बागी उम्मेदवार उठेका कारण पनि प्रचण्डलाई थप सहज भएको हो । यद्यपि यी दुई बागीले प्रचण्डको केही मत भने काट्ने अनुमान छ । काँग्रेसबाट यही क्षेत्रको तल्लो भेगका गणेश देवकोटा र टीकादक्त पोखरेल उठेका कारण दुई बागीको मत पनि दुईतिर बाडिने भएकाले प्रचण्डलाई चुनाव जित्न धेरै सहज भएको माओवादी नेताहरुको बुझाइ छ । गणेशले आफ्नो भेग सहित माथिल्लो भेगको धेरै मत लाने अनुमान गरिएको छ । देवकोटाको धेरै आफन्त माथिल्लो भेगमा रहेकाले र माओवादी पीडितहरु पनि भएकाले माथिल्लो भेगको काँग्रेसको भेग गणेशलाई जाने अनुमान माओवादीको छ भने एक सय बर्षका उम्मेदवार पोखरेलले तल्लो भेगको केही मत काट्ने पनि अनुमान गरिएको छ ।

प्रतिस्पर्धी को ?

प्रचण्डले चुनाव जित्ने लगभग निश्चित भए पनि उहाँको प्रतिस्पर्धी को हुने भन्नेमा बहस भएको पाइएको छ । काँग्रेस र माओवादी गठबन्धन भए पनि प्रचण्डको प्रतिस्पर्धी एमाले हुने भए पनि यस क्षेत्रमा स्वतन्त्र सहित काँग्रेसकै बागी उम्मेदवार भएकाले पनि एमाले नै प्रतिस्पर्धी हुने संभावना कम रहेको विश्लेषण गरिएको छ ।

जनआधार एकदमै कमजोर रहेको गोरखा २ मा एमालेले युवा उम्मेदवारलाई उठाए पनि प्रचण्डको प्रतिस्पर्धी एमाले नै हुन्छ भनेर एकिनसाथ भन्न नसकिने यहाँका राजनीतिक विश्लेषकहरुको तर्क छ । प्रचण्डको प्रतिस्पर्धी काँग्रेसकै बागी उम्मेदवार भए नेतृत्वलाई गठबन्धनका बिरुद्ध बोल्न थप बाध्य पार्न सकिने भएकाले पनि काँग्रेसको एक समूह भने बागीलाई जिताउन लागेको देखिएको छ ।

Leave a Reply