कृष्णउदास खनाल
गोरखा(भच्चेक), नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रतिनिधि सभाका लागि गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल(प्रचण्ड)ले आफू यसपालीको चुनावमा भने आनन्दमा रहेको बताउनुभएको छ । गोरखाको भच्चेकमा आइतबार आयोजित घरदैलो कार्यक्रममा उपस्थित सर्वसाधारण नागरिकहरुलाई संबोधन गर्दै उहाँले यसपालीको चुनावमा आफू तनाबरहित रहेको बताउनुभयो । यसअघिको चुनावमा निकै तनाब भएपनि यसपाली भने तनाब रहित र आनन्द रहेको बताउनुभयो । उहाँले गोरखा २ बाट आफू निर्वाचित भएर गएपछि आफ्नो प्राथमिता सडकको स्तर उन्नती नै रहने बताउनुभयो । प्रचण्डले अबको आर्थिक क्रान्ति भने गोरखाबाट नै शुरु हुने बताउनुभयो ।
कार्यक्रममा संबोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमंत्री डा.बावुराम भट्टराईले गोरखा २ का मतादाताहरु निकै भाग्यमानी रहेको बताउनुभयो । गोरखा २ मा यसपाली उठेका प्रचण्ड आगामी दिनमा प्रधानमंत्री र गोरखा २ को प्रदेश सभाको खमा उठेका काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाँण्डे मुख्यमंत्री बन्ने जिकिर गर्नुभयो । गोरखा २ का मतादाताहरुको मतबाट नै प्रचण्ड प्रधानमंत्री र पाँण्डे गण्डकी प्रदेशको मुख्यमंत्री बन्ने हुँदा गोरखा २ का मतदाता भाग्यमानी रहेको बताउनुभयो । उहाँले आफूले दुई पटक गोरखा २ बाट बिजयी हासिल गरेपनि यस पटक प्रचण्डका लागि छाडेको भन्दै आफू अझैपनि गोरखा २ का नागरिकहरुका लागि पुलकै रुपमा रहिरहने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गोरखा २ खका प्रदेश सभाका उम्मेदवार सुरेन्द्र पाँण्डले मुलुक र लोकतन्त्रका लागि काँग्रेस र माओवादीको गठबन्धन भएकाले पनि गठबन्धनका उम्मेदवार जिताउन आवश्यक रहेको बताउनुभयो ।
बेपत्ता परिवारसंग भेट
गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुरबाट माओवादीले संचालन गरेको सशस्त्र संघर्षका क्रममा राज्यबाट बेपत्ता पारिएका परिवारका केही सदस्यसंग एकदमै छोटो भेट गर्दै प्रचण्डले शहिद तथा बेपत्ता परिवारका सदस्यसंग अर्को कार्यक्रममा भेट गर्ने प्रतिबद्धता जनाउनुभएको छ । चाँडै नै भच्चेकमा नै गठबन्धनका तर्फबाट आमसभाको तयारी समेत भइरहेको काँग्रेस,माओवादी गठबन्धनका नेताहरुले बताएका छन् ।