निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ स्थित तराई÷मधेस– काठमाण्डौं दु्रतमार्गको ट्याकमा शुक्रवार दिउसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । दु्रतमार्ग निर्माणको क्रममा स्थापना गरिएको नेपाली सेनाको विकास निर्माण कार्यदलको ब्यारेकमा पसेर आतङ्क मच्याएको सो बाघ केही समयपछि नै सडक छेउमा मृत अवस्थामा फेला परेको हो ।

घाइते अवस्थामा ब्यारेकभित्र पसेर आक्रमण प्रयास गरेपछि नेपाली सेनाले पर्सा वन्यजन्तु निकुञ्ज आदाधारमा खबर गरेको थियो । सेनाको खबरलगत्तै निकुञ्जबाट सहायक संरक्षण अधिकृत सूर्य खडकाको नेतृत्वको टोली निजगढ आइपुगेको थियो ।

‘टोली पुग्दा धुकधुकी अझै चल्दै थियो, सहायक संरक्षण अधिकृत खडकाले भन्नुभयो, त्यसको केही समयपछि हेर्दाहेर्दै बाघ मर्यो ।’ उहाँले मृत्युको कारण भने पत्ता लागिनसकेको बताउनुभयो । ‘ब्यारेकभित्र पसेर सवारी साधनमा झम्टिने र सैनिक जवानलाई समेत आक्रमण प्रयास गरेको खबर पाएपछि आरक्षको टोली लगत्तै आएको हों, सहायक अधिकृत खडकाले भन्नुभयो, तर हामी आइपुगेको केही समयभित्र नै बाघ मर्योे ।’ बाघको मुखबाट आलो रगत बगेको र शरीरमा धारिलो हतियारले रोपेको जस्तो खत देखिएको पनि उहाँले जानकारी दिनुभयो । ‘टाउको र ढाडमा घाँउ देखिएको छ, खडकाले भन्नुभयो, तर पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिदैन ।’ उहाँका अनुसार ३.३ फिट अग्लो सो बाघको लम्बाइ ८ फिट रहेको छ ।

घाँउमा किरासमेत परेको देखिएकोले सो बाघ घाइते हुनसक्ने अधिकृत खडकाको अनुमान छ । ‘घाइते अवस्थामा रन्थनिएर ब्यारेकमा पसेको र सवारी साधनमा आक्रमण गर्ने क्रममा मुखमा चोट लागेको हुनसक्छ ।’ उहाँले भन्नुभयो । निकुञ्जको टोलीले मुजुल्का उठाएर पोष्टमार्टमको लागि मृत बाघ आरक्षको कार्यालय आदाभार लगेको छ । एक÷दुईभित्र पोष्टमार्टम रिर्पोट आउने र मर्नुको कारण पत्ता लाग्ने बताइएको छ । वन समुहका पदाधिकारी, डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का तयार पारिएको थियो ।

पर्सा वन्यजन्तु निकुञ्जको सीमा क्षेत्रमा रहेको बकैया नागमणी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रको जंगलमा दु्रतमार्गको जिरो किमी नजिकै बाघ फेला परेको हो ।

Leave a Reply