काठमाडौं : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएको छ । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२स्५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा भएको हो ।
राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले मध्यराति १ बजेर ४९ मिनेटमा सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको उल्लेख गरिएको हो ।
यसअघि पनि प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।
फागुन २३ सुरु भएको पुनःस्थापित संसद्को अधिवेशन डेढ महिनासम्म चल्यो। यो बीचमा पटकपटक अविश्वास प्रस्तावको हल्ला र चर्चा चल्यो तर त्यो प्रयासले आकार लिन सकेन। विपक्षीहरू अविश्वास प्रस्तावका लागि अलि तात्दै गर्दा गत वैशाख ६ मा सरकारले पुनःस्थापित संसद्को अधिवेशन नै अन्त्य गरिदियो। त्यसपछि माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदै ओलीले विश्वासको मत लिन संसद्को अधिवेशन बोलाएका थिए।