वीरगञ्ज,
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा आत्मघाती सहमति नगर्ने बताउनु भएको छ । जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले गठबन्धनका नाममा कुनै पनि आत्मघाती कदम नउठाउने बताउनु भएको हो । प्रतिगमनकारी कदमको अन्त्यका लागि गठबन्धन बनाइएको उहाले स्पष्ट पार्नुभयो ।

आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सन्तुष्ट हुन नसके सत्ता गठबन्धनबाट अलग हुन सक्ने उहाको भनाइ थियो । तर, सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा उहाले जोड दिनुभयो । मधेशको शक्तिलाई कमजोर आकलन नगर्न उहाले अरू दललाई चेतावनी समेत दिनुभयो ।
संघीयता र गणतन्त्र संकटमा परेको वेला गठबन्धन गरिएको उहाले स्मरण गर्नुभयो । सामाजिक विकृतिको रुपमा रहेको पिछडा वर्गहरु माथिको अन्याय अन्तको लागि संवैधानिक रुपमै पहल गर्नुपर्ने उल्लेख गर्नुभयो । दलित र पिछडा वर्गको उन्नति विना देश समृद्ध हुन नसक्ने उहाले बताउनुभयो । उहाले वर्तमान निर्वाचन प्रणाली परिवर्तन नगरे सम्म हरेक वर्गको समान सहभागीता हुन नसक्ने दावी गर्नुभयो । महँगो निर्वाचन प्रणालीले सवै वर्गको सदन हुन नसक्ने उहाको भनाई थियो ।
उहाले लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले एक्लै सडक आन्दोलन गर्यो, पछि पछि कांग्रेस र कम्युनिष्टहरु पनि आए, जुन दलको बलमा तिनीहरुले सत्तामा गए त्यसले जसपालाई आज कमजोर बनाउन गठबन्धन गर्न लागेको आरोप लगाउनुभयो । उहाले जात जाति र वर्गमा बांडिएर पछि पछि लागेको कारण ८० प्रतिशतको संख्यामा रहेका हामी मधेशी र पिछडिएकाहरुमाथि मुठीभर २० प्रतिशतको हराहारीमा रहेका खसहरुले शासन गरिरहेको बताउनुभयो ।


















