सर्लाही –  सर्लाहीमा आइतबार छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना र विद्युतीय करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका– ८ कविलासी बजारमा इ–रिक्सा (मयुरी)को ठक्करबाट र विष्णु गाउँपालिका– २ पकडीटोलमा करेन्ट लागेर अर्की एक महिलासहित २ जनाको मृत्यु भएको हो । नवलपुर–मलङ्गवा सडकखण्डमा पर्ने कविलासी बजारमा शनिबार साँझ मधेश प्रदेश ०४–००१ ह ०६९७ नम्वरको इ–रिक्साले ठक्कर दिँदा पैदलयात्रु सोही ठाउँकी ६० वर्षीया स्वागवती ठाकुरको मृत्यु भएको हो ।

नवलपुरबाट कविलासीतर्फ जाँदै गरेको इ–रिक्साले ठक्कर दिँदा गम्भीर घाइते भएकी ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । इ–रिक्सा र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका– २ पकडीटोलमा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय ६० वर्षीया कृष्णमती देवीको करेन्ट लागेर मृत्यु भएको हो । धानखेतमा विद्युतीय पानी तान्ने क्रममा मोटरको नाङ्गो तारमा पैताला परेर करेन्ट लाग्दा उहाँ गम्भीर घाइते भएकी थिइन ।

उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो । मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ ।

Leave a Reply