नरेश गुप्ता
बरियारपुर,हरेक वर्ष झै यस वर्ष पनि बाराका असार १५ गते मंगलवार स्थानीय तहहरुमा धान दिवस मनाइएको छ । सो अवसरमा जिल्लाको पचरौता नगरपालिकाले कृषकको खेतमा पुगेर गएर धान रोपाइ गरि दिवस मनाएको स्थानीय रौशण यादवले बताउनुभयो । पचरौता नगरपालिकाको आयोजनामा भएको धान रोपाइ दिवसमा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी जिल्लाको निजगढ, महागढीमाई, सिम्रौनगढ नगरपालिका र सुवर्ण, देवताल, फेटा र बिश्रामपुर लगायतका गाउँपालिकामा पनि स्थानीय तहले असार पन्ध्रलाई धान रोपाइँ दिवसको रुपमा मनाएका छन ।
त्यस्तै मंगलवार असार १५, धान दिवसका रुपमा निजगढमा दही र चिउरा खाएर मनाइएको छ । यसैक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले दहिचिउरा खुवाएर धान दिवस मनाएको छ । सहकारीको बिक्री केन्द्र सहीद चोकमा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा, निजगढ नगरपलिकाका नगर प्रमुख सुरथ पुरी, दुग्ध विकास बोर्ड मधेस प्रदेशका सदस्य दिलबहादुर लामा, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, एकबहादुर श्रेष्ठलगायत निजगढस्थित विभिन्न बैङ्ग र बित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुुभयो ।
सरकारले यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाएको हो । २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार सरकारले २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको हो ।
नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । धानको उत्पादन बढे, कुल गार्हस्थ उत्पादन बढ्छ तर उत्पादन घटे घट्छ । तर किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन् ।
चालु आर्थिक वर्षका ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको तथ्याङ्क छ । कृषि विभागले दिवसको मुख्य कार्यक्रम खुमलटारमा गर्दैछ ।त्यस्तै पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाइँ महोत्सव पोखरा महानगर–२५ हेम्जामा हुँदैछ ।
कृषि प्रधान देश नेपालमा धानको ठूलो महत्व छ । असार महिनामा मानो रोपेर मुरी उब्जाउने मान्यता छ । असार १५ का दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन् । असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।