हेटौडा,मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ ।
उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइए तापनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिनुभयो ।
सम्भवतः सोमबार ३५ दिने सूचना प्रकाशित हुने उहाँको भनाइ छ । ‘हामीले पहिलेबाट नै भौतिक संरचना बनाउँदा नक्सा पास र अभिलेखीकरणमा चुस्त गरेका छौं । तर पनि केही स्थानमा सडक ओगटेर पर्खाल, टहरा बनाएको गुनासो आउन थालेको छ, अनुगमनको क्रममा त्यस्तो संरचना पाइए उपमहानगरले कारबाही गर्छ’ मेयर लामाले भन्नुभयो ।
उपमहानगरका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारबाही हुनेछ ।
आफूले प्रचारका लागि मात्रै काम गर्ने नगरेको भन्दै मेयर लामाले भन्नुभयो, ‘हेटौंडाको आवश्यकता र जनप्रतिनिधिको कर्तव्यलाई बुझेर उपमहानगरले काम अघि बढाउँछ । ’