निजगढ,
निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसुमनकुमार धितालले बुधवार कार्यालयमा हाजिरी गर्नुभएको छ ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा भएर आउनुभएका धिताललाई कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा र अधिकृत रविन घिमिरेले कार्यालयमा स्वागत गर्नुभएको थियो । कार्यालयमा हाजिरी गरेसंगै प्रमुख प्रशासकीय अधिकृत धिताल र नगर कार्यपालिका सदस्यहरु र कार्यालयका कर्मचारीबीच परिचयात्मक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै अधिकृत धितालले राष्ट्रसेवक कर्मचारीले कानुनले तोकेको जिम्मेवारी इमान्दारीताका साथ पालन गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधिहरु मिलेर काम गर्नसके मात्रै सम्वृद्ध निजगढ निर्माण गर्न सकिने पनि बताउनुभयो ।

कार्यक्रममा नगर पालिकाका प्रमुख सुरत पुरी, उपप्रमुख सोममाया थिङ्गसहित अधिकांश वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । अधिकृत धितालले कार्यालयमा जिम्मेवारी सम्हालेसंगै नगरपालिकामा लामो समयदेखि उत्पन्न हुदै आएको रिक्तताको अन्त्य हुने र अवरुद्ध काम सहजरुपमा अघि बढने वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कुटुवालले विश्वस व्यक्त गनुर््भएको छ । उहाँले चालु आर्थिक वर्षको बजेट निर्माण र गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी जस्ता विषयमा तत्काल कार्यपालिकाको बैठक बसेर निर्णय गर्नुपर्ने पनि बताउनुभयो ।

त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले पनि प्रमुख प्रशासकीय अधिकृत धिताल कार्यालयमा हाजिर भएपछि बजेट निर्माण लगायतका काम काम तदारुकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नगरको विकासको लागि जनप्रतिनिधि र कर्मचारी एकआपसमा मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयले भाद्र १ गतेको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत उपसचिव धिताललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी निजगढ खटाएको हो । पछिल्लो पटक मन्त्रालयको निर्णय उल्टाउदै सरुवा थमौति गरेर निजगढमा नै फर्किने प्रयासमा रहनुभएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की मन्त्रालयमा नै तानिएपछि धितालको निजगढमा सरुवा भएको थियो ।

Leave a Reply