वीरगन्ज,कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा वीरगन्ज आइपुगेको एक शिष्ट मण्डल र वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगन्जको महत्व, यसको आर्थिक, सांस्कृतिक, पर्यटकीय सम्भावना बारेमा उजागर गर्नुभएको थियो । उहाँले नेपालको चेम्बर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको वीउवासङ्घले आफ्नो स्थापनाको झण्डै ८ दशक पार गरि सकेको बताउदै वीरगन्ज क्षेत्रका उद्योग, व्यापार तथा निजीक्षेत्रको हित संरक्षणमा संस्थागत ऊर्जा खर्चिदै आइरहेको बताउनुभएको थियो ।
पछिल्ला दिनहरुमासरकारी नीति नियममा भइरहेको परिवर्तनका कारण व्यापार व्यवसायहरु धरासायी हुँदै गइरहेकोले यस्ता नीति नियमहरु सच्याउनको लागि दबाब सिर्जना गर्न निजीक्षेत्रले साझा एजेण्डाको रुपमा अगाडि सार्नु पर्नेमा जोड दिनुभयो । उहाँले वीरगन्ज र कैलाली उवासङ्घबीच भगिनी सम्बन्ध कायम गरेर संयुक्तरुपमा अघि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
कैलाली उवासङ्घका अध्यक्ष पुष्पराज कुँवरले क्षेत्रीय व्यापार, व्यवसाय, पर्यटन, कृषि आदि क्षेत्रको विकास तथा विस्तारको लागि आपसी सहकार्य एवम् सहयोग गर्ने, व्यापार व्यवसायका मुद्दाहरुमा नेपालभरिका चेम्बरहरु एक भएर सामूहिक प्रयास र पहल गर्दै व्यापार व्यवसाय विकास र विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
भेटघाटका क्रममा कैलाली उवासङ्घका प्रतिनिधिहरुले राखेका सङ्घको सदस्यता प्रदान गर्ने प्रक्रिया सीमा व्यापारका समस्या, बैंक तथा वित्तीय क्षेत्रका समस्याका बारेमा उपाध्यक्षद्वय हरि गौतम र माधव राजपालले प्रष्ट पार्नुभएको थियो ।
सोही क्रममा वीरगन्ज उवासङ्घ र कैलाली उवासङ्घबीच द्विपक्षीय व्यापार, विस्तार, आपसी समन्वय र सहकार्यका लागि भगिनी सम्बन्ध कायम गरिएको घोषाणा गरिएका थियो । भगिनी सम्बन्ध सम्बन्धि स्मृतिपत्रमा वीरगन्ज उवासङ्घको तर्फबाट अध्यक्ष डा. गुप्ता र कैलाली उवासङ्घको तर्फबाट अध्यक्ष कुँवरले हस्ताक्षर गरी आदानप्रदान गर्नुभयो ।
भेटघाटको क्रममा सङ्घका नेपाल उद्योग वाणिज्य महासङ्घ–मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका निवर्तमान अध्यक्ष गोपाल केडियालगायतको उपस्थिति रहेको थियो ।
















