वीरगन्ज,पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वीरगन्जमा राति दश बजेपछि पनि डिजे बजाए कारबाही गरिने चेतावनी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यसअघि नै यो बिषयमा निर्णय गरेको स्मरण गराउदै प्रमुख जिल्ला अधिकारी ढकालले यसको कार्यान्वयन नगर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनुभयो ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले होटल व्यवसायी र प्रशासन दुबैको सहकार्यमा मात्रै होटलभित्रको विकृति अन्त्य गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले होटल क्षेत्रमा गलत गतिविधि नहोस् भन्ने नै आफूहरुको चाहना रहेको र दुःख दिने भने नियत नभएको बताउनुभयो ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायीहरु मोहन प्रधान, अनोज रुंगटा, कुबेर कार्कीलगायतले होटल क्षेत्रको समस्याको बिषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण युवा होटल व्यवसायी दीलिपराज कार्कीले गर्नुभएको थियो ।
व्यवसायीहरुलाई अभिमूखिकरण
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको आयोजनामा बिहीबार वीरगन्ज क्षेत्रका होटल व्यवसायीहरुका लागि एक दिने सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
होटल तथा पर्यटन व्यवसायीहरुका लागि लक्षित गरी एकदिने होटलको लोगो स्तरीकण तथा नवीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उद्घाटन गर्दै खाद्य र होटल व्यवसायीबीचको सम्बन्ध नजिक रहेको र होटलमा सफा र सुग्धर खानपिन अति आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा आयोजक कार्यालयका प्रमुख रतनकान्त झाले होटलहरुमा बन्ने खाना र होटलहरुको वातावरणका आधारमा आफूहरुले होटलहरुलाई वर्गीकरण गरी बिभिन्न चिन्ह दिएको बताउनुभयो । उहाँकै अध्यक्षतामा भएको कार्यक्रममा खाद्य प्रविधिका बिक्की राउत, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, होटल व्यवसायीहरु अनोज रुंगटा, मोहन प्रधान लगायतले होटल क्षेत्रको अवस्थाका बिषयमा जानकारी गराएका थिए ।



















