रौतहट,रौतहटमा मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (सई) कारबाहीमा परेका छन् ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले गाउँमा लागेको मेलामा प्रहरीको बर्दीमा नै नर्तकीसंग अश्लील नृत्य गरेपछि नेपाल प्रहरीको चौतफी आलोचना भएको थियो ।
कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको मनोरञ्जनात्मक कार्यक्रममा सई साहले बर्दीमा नै अश्लील नृत्य प्रदर्शन गरेका थिए । सई साहले स्टेजमा नै चढेर भोजपुरी गीतमा नर्तकीसंग टाँसिएर अश्लील नृत्य गरेका थिए । सई साहको अश्लील नृत्यको भिडियो सामाजिक संजाल फेसबुकमा भाइरल भएको छ ।
अश्लील नृत्यको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले कारबाहीको लागि सई साहलाई गौरमा तानेको र कारबाही प्रकृया सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी गरउनुभएको छ ।