नरेश गुप्ता

बरियारपुर,नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाका कर्मचारीहरुले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गर्दै आएको पाइएको छ ।

प्राधिकरणमा नयाँ मिटर, तथा नयाँ पोल र तार जडानको लागि सेवा लिन पुगेका सर्वसाधारण सेवाग्राहीलाई विभिन्न बहानामा कर्मचारीहरुले दुःख दिने गर्दै आएका हुन । एक दिनमा हुने काममा पनि हप्तौंसम्म अल्झाएर राख्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।

नयाँ मिटर जडानको लागि प्राधिकरणमा एक हप्तादेखि धाँउदा पनि काम नभएको महागढीमाई नगरपालिका वडा नम्बर १ निवासी राजेन्द्र साह कानु बताउनुहुन्छ । त्यसैगरी नयाँ मिटर जडानको लागि वडाको सिफारिस, प्राविधिकको ईस्टिमेट लगायतको सबै प्रक्रिया पुर्याएको भए पनि आफ्नो बुवाको नाममा प्राधिकरणमा बक्यौता रकम रहेको बताउदै मिटर दिन आनाकानी गरेको पीडित साहले बताउनुभयो ।

त्यसैगरी बस्तीभन्दा बाहिर घर निर्माण भएको ठाउँमा पोल र तारको लागि पुगेका कलैयाका एकजना सेवाग्राहीलाई समेत कार्यालयका कर्मचारीले अल्झाएर राखेको पाइएको छ ।

यता, नेपाल विद्युत प्राधिकरण कलैयाका प्रमुख हृदय गुप्ताले सेवाग्राहीलाई दुख नदिइएको तर आर्थिक वर्ष समाप्त हुन लाग्दा कार्यालयमा बजेटको अभाव भएकोले पोल र तार प्रदान गर्न नसकिएको बताउनुभयो ।

त्यसैगरी प्राधिकरणको लापरबाहीको कारण केही दिनयता बारा जिल्लाका विभिन्न पालिकामा पटक पटक लाइन अवरुद्ध हुने जस्ता समस्या आउन थालेपछि विवेकशील साझा पार्टी बाराका अध्यक्ष सुशील साहले सोमवार कार्यालय प्रमुख गुप्ताको ध्यानाकर्षण गराउनु भएको छ । अध्यक्ष साहले कार्यालयमा नै पुगेर ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।

Leave a Reply