सिमरा,मापदण्ड विपरीत खोला दोहन गरेर ‘अवैध’ रुपमा संकलन गरेर राखिएको गिट्टी, ढुंगा, बालुवाको नापजाँच गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आलटाल गरेको छ ।

ठेकेदारले संकलन गरेर विभिन्न स्थानमा थुपारेर राखेको गिट्टी, ढुंगा र बालुवा नापजाँच गर्न चौतर्फी दवाव परेपनि उपमहानगरपालिका कार्यालयले आलटाल गर्दै आएको हो । खोलाबाट अबैध ढंगले उत्खनन गरेर ठूलो परिमाणमा नदीजन्य वस्तु उपमहानगरभित्र कै क्रसर र बालुवा उद्योग परिशर र नदी उकासको सार्वजनिक जग्गा तथा खेतीयोग्य जग्गामा अनुमति बिना घाटगद्दी गरेर राखिएको छ ।

चालु आर्थिक वर्षको लागि दुधौरा, बालगंगा र पसाहा खोलाबाट करिब ७० लाख घनफिट नदीजन्य पदार्थ उत्खनन गर्न उपमहानगरले ४ करोड ८१ लाखमा सन्देश सप्लायर्स प्रा.लि.सँग ठेक्का सम्झौता गरेको हो । तर, ठेक्का सम्झौतामा उल्लेख भएको भन्दा ४ गुणा बढी माल खोलाबाट निकालिएको र त्यसको अपचलन हुनसक्ने भन्दै उपमहानगरपालिकाका केही वडा अध्यक्षहरुले तत्काल घाटगद्दीमा थुपारिएको माल नापजाँच गर्न माग गर्दै आएका छन ।

बालगंगा खोलासँग जोडिएको जीतपुरसिमरा वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले खोला कागजमा कानुनी प्रकिया पुर्याएर लागे पनि उत्खनन् भने गलत ढंगले हुने गरेको बताउनु भयो । उहाँले ठेकेदार कम्पनीले दुधौरा, बालगंगा र पसाहा खोलाबाट संझौताभन्दा धेरै बढी परिमाणमा उत्खनन गरेको बताउनुभयो । उहाँकाअनुसार कम्पनीले १ करोड घनफिटभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरेको लामिछानेले बताउनुभयो ।

नदीजन्य पदार्थ उत्खनन, संकलन, घाटगद्दी तथा बिक्री सम्वन्धि सम्झौतामा दोस्रो पक्ष (ठेकदार) ले सो पदार्थको घाटगद्दी गर्ने स्थान तोकी बिक्री गर्ने व्यवस्था मिलाउने भनी उल्लेख गरिएको छ । तर, ठेकदार कम्पनीले भने उपमहानगरसँग अनुमति नैं नलिई कानुन विपरीत अबैध रुपमा खोला खनेर ठुलो परिणाममा नदीजन्य पदार्थको घाटगद्दी हदै आएको छ । ठेकदारले घाटगद्दी गरेर थुपारेको गिटी, ढुंगा, बालुवा नापजाँच गर्न आलटाल गर्दा संघीय सरकारसँगै स्थानीय र प्रदेश सरकारको करोडौं रुपैयाँ राजस्व समेत गुमेको छ ।

Leave a Reply