नरेश गुप्ता

बरियारपुर,बाराको सदरमुकाम कलैयामा रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयमा मंगलबार कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले छड्के चेकजाँच गर्नुभएको छ ।

विद्यालयका विद्यार्थी र अभिभावकहरुले अंग्रेजी माध्यममा अध्ययन गर्ने छात्रछात्राहरुसंग मनोमानी शुल्क असुल्ने गरेको गुनासो आएपछि मेयर साहले विद्यालयको अनुगमन गर्नुभएको हो । चेकजाँचको क्रममा विद्यालयले अंग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीसंग भर्ना, मासिक र परीक्षाको नाममा चर्को रकम असुल्ने गरेको तर शुल्क तिरेको रसिद भने नदिइएको फेला परेको छ ।

विद्यालयले कक्षा ८ मा अध्ययनरत विद्यार्थीसंग भर्ना शुल्कको नाममा एक हजार तथा मासिक एक हजार शुल्क विद्यालयलाई तिर्दै आएको तर उनीहरुले पनि रसिद नपाएको विद्यार्थीहरुले नगरप्रमुख साहसंग गुनासो गरेका थिए । त्यस्तै कक्षा ११ का विद्यार्थीसंग परीक्षा शुल्कको नाममा १ हजार १ सय असुल्ने गरेको पनि उनीहरुको गुनासो थियो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय बिना नै विद्यालयले दुई वर्ष अघिदेखि रकम असुल्दै आएको अभिभावक र विद्यार्थीहरुको गुनासोपछि नगरप्रमुख साहले विद्यालयको निरीक्षण गर्नुभएको हो । निरीक्षणपछि नगरप्रमुख साहले अंग्रेजी माध्यमबाट संचालन गरिएको कक्षाका विद्यार्थीबाट संकलन गरिएको शुल्कको सबै विवरण सार्वजनिक गर्न विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरीलाई निर्देशन दिनुभएको छ । निरीक्षणको क्रममा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, शिक्षा शाखा प्रमुख प्रहलाद बर्णवाल र संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरीले अग्रेजी माध्यमको कक्षा संचालन गरे बापत निजी स्रोतबाट तलब खाने गरी भर्ना गरिएका शिक्षकहरुलाई मासिक तलब दिन विद्यार्थीहरुसंग रकम लिइएको स्वीकार गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here