राजकुमार यादव

मौलापुर,नेकपा एमलेका स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री प्रभु साहले रौतहटका १८ वटै पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ईमान्दारीता साथ काम गर्दै पार्टीको छविलाई उजागर गर्न सुझाव दिनुभएको छ ।

नेकपा एमाले रौतहटको आयोजनामा आईतवार मौलापुर नगरपालिकाको सभाहलमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता साहले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री साहले जनताको समस्यालाई आफ्नो समस्या ठानेर ईमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई उहाँले सुझाव दिनुभयो ।

रौतहट जिल्ला शिक्षामा एकदमै कमजोर बनेको र साक्षरता प्रतिशत तल झरेकोले यसलाई माथि उकास्न जनप्रतिनिधिहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा उहाँको जोड दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा पार्टीको अपेक्षा अनुसार चुनवा जिताउन नसके पनि आसन्न निर्वाचनबाट प्रदेशसभा सदस्य र संघीय सांसद निर्वाचित गराउन नवनिर्वाचित जनप्रतिनिधिहरुले मिहनेत गर्नुपर्नेमा उहाँको जोड दिनु भयो । ‘निर्वाचित प्रतिनिधिहरुको बोली, काम र आचरण सबैको चर्चा होस, उहाँले भन्नुभयो, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अरु पार्टीका भन्दा राम्रा र असल छन भन्ने जनताले महशुस गर्न पाऊन ।’

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटमा नेकपा एमालेको तर्फबाट मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य गरी एक सय ६६ जना जनप्रतिनिधि निर्वाचित भएका छन । यो संख्यालाई बढाउन नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यशैलीले प्रभाव पर्ने भएकोले अहिलेदेखी नै ईमान्दार र जनउत्तरदायी भएर काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको थियो ।

स्थानीय सरकार संचालनमा केन्द्र र प्रदेश सरकारको भुमिका विशेष रहने भएकोले आउदो निर्वाचनमा एमालेको सांसद र प्रदेश सभासदस्य जिताउन अहिलेदेखि नै सक्रिय हुन पनि उहाँले अनुरोध गर्नुभयो ।

एमाले रौतहटका जिल्ला सभापति त्रिभुवन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम पूर्वप्रदेशसभा सदस्य कुन्दन कुशवाहा, केन्द्रीय सदस्य एवम जिल्ला ईन्चार्ज उपेन्द्र साह, एमाले केन्द्रीय लेखा विभाग सदस्य राजकिशोर यादव, एमाले मधेश प्रदेश कमिटीकी उपसचिव आरती भण्डारीलगायतले मन्तव्य व्यक्त गर्दै पार्टीको टिकटमा निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेका थिए । सोही कार्यक्रममा जनप्रतिनिधिहरुलाई प्रमुख अतिथि साह र अन्य अतिथिहरुले गम्छा ओढाएर सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here