नरेश गुप्ता
बरियारपुर,बाराका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पद तथा गोपनियताको सपथ लिएसंगै पदभार गरेर लोकप्रिय घोषणा गर्न थालेका छन ।
वडा अध्यक्षमा निर्वाचित प्रतिनिधिहरुले वडाको विकास निर्माणसंगै जनतालाई थप सेवा र सुविधा दिने घोषणा गर्न थालेका हुन ।
जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ५ मा दोस्रो कार्यकालको लागि निर्वाचित वडा अध्यक्ष गजेन्द्र जैसवालले वडाको विकासको लागि बुधबार पदभार ग्रहण गरेसंगै वडा कार्यालयले दलित र विपन्न वर्गका छात्राहरुको लागि विद्यालयमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोग्राफी जस्ता सुविधा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
महागढीमाई नगर उपप्रमुख तारादेबी कानुले नवनिर्वाचित वडा अध्यक्ष जैसवाललाई पदभार ग्रहण गराउनुभएको थियो ।
त्यसैगरी सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ मा निर्वाचित वडा अध्यक्ष बिबेक मेहताले वडा कार्यालयबाट मालपोत बाहेकको सम्पुर्ण सेवमा कर मिनाहा गर्ने घोषणा गर्नुभएको छ ।
कृषि कार्यको लागि किसानलाई रसायनिक मल सहज रुपमा उपलब्ध गराउन वडाभित्र मलखादको डिपो राख्नेसमेत प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ र वडा नम्बर ७ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष निर्वाचित भएका छन । नगरपालिकाको नगर प्रमुख किशोरीप्रसाद कलवारले वडा नम्बर ६ को वडा कार्यलय उद्धाटनसंगै वडा अध्यक्ष नन्दकिशोर जैसवालले पदभार पनि ग्रहण गर्नुभएको छ ।
यसैगरी वडा नम्बर ७ मा नगर उपप्रमुख नजबु शेहरले वडा कार्यलयको उद्धाटन गर्नुभएको थियो । वडा अध्यक्ष विवेक मेहतालाई नगर उपप्रमुख शेयरले पदभार ग्रहण गराउनुभएको छ ।


















