नरेश गुप्ता

बरियारपुर,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले सामी परियोजनालाई थप व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ ।

कलैयास्थित दास गेस्ट हाउसमा दलित जनजाति उत्थान केन्द्र बाराले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि विषयमा पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले यस्तो बताउनुभएको हो ।

सुरक्षित वैदेशिक रोजगारीको निम्ति सामी परियोजनाले उल्लेखनीय काम गर्दै आएको बताउदै यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रमलाई थप व्यवस्थित पार्न कार्यालयले बजेटसमेत निकासा गरेको जानकारी दिनुभयो ।

‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारमा जाने भए केही सूचना र सीप लिएर जाऔं’ भन्ने कुरामा जनचेतना जगाउने उदेश्यले सामी परियोजनाले परामर्श प्रदान गर्दै आएको बताउदै उहाँले वैदेशिक रोजगारीको सिलसिलामा कोहि पनि ठगी र अलपत्रमा नपरुन भन्ने उदेश्य प्राप्त गर्न पत्रकारहरुको भुमिका पनि महत्वपुर्ण हुने अधिकृत साहको भनाइ थियो ।

सामी परियोजनाले बारा जिल्लाको जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, बारागढी गाउँपालिका, सिम्रौनगढ नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ । परियोजनाका बारा जिल्ला कोर्डिनेटर सरोजकुमार सिंहले वैदेशिक रोजगारी सम्बन्धि १ सय ४ वटा मुद्दा बारामा दर्ता रहेकोमा विभिन्न प्रकृतिका ३७ वटा मुद्दा परियोजनामार्फत समाधान गरेको जानकारी दिनुभयो ।

बाराबाट वैदेशिक रोजगारीमा गएका मध्ये ४ जनालाई जेलमुक्त, ठगीमा परेका ५ जना, मृत्यु भएका ८ जनाको शव उद्धार र अन्य उद्धार १६ जना गरि जम्मा ३७ जनाको उद्धार गरिएको परियोजनाको जिल्ला प्रमुख सिंहले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा ज्यान गुमाउन पुगेका व्यक्तिले नेपालबाट श्रम स्वीकृति लिएको भए नेपाल सरकारले ७ लाख र बिमा कम्पनीको तर्फबाट ४ लाख गरि १४ लाख दिने व्यवस्था रहेको जानकारी पनि सो अवसरमा दिइएको छ । रोजगारीकै सिलसिलामा प्राणघातक रोगबाट मृत्यु भएमा थप ५ लाख दिने व्यवस्था रहेको परियोजना संयोजक सिंहले जानकारी दिनुभयो ।

वैदेशिक रोजगार व्यवसायीको संख्या नेपालमा ८३४ रहेको र त्यसका ३२ शाखा कार्यरत रहेका छन । त्यसैगरी बिमा कम्पनी १४, स्वास्थ परीक्षण संस्था २ सय १८ वटा नेपालमा रहेको जानकारी पनि गराइएको छ । दलित जनजाति उत्थान केन्द्र बाराका अध्यक्ष हरिशंकर रामको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here