कृष्ण मोहन साह

सेढवा,गाउँपालिका अध्यक्ष प्रदिप जैसवालले उपाध्यक्ष फुलमतीदेवी चौधरीलाई कुटपिट र दुव्र्यवहार गरेको बिषयमा बुधबार सखुवाप्रसौनी गाउँपालिकामा सर्वदलीय बैठक बसेको छ । बैठकले उपप्रमुखमाथि भएको कुटपिट र दुव्र्यवहार घटनाको भ्रत्सना गर्दै घटनाको छानबिन दोषिलाई गरी ३ दिनभित्र कानुनी कारबाहीको माग गरेको छ ।

गोप्य रुपमा गाउँसभा गरेको र गाउँपालिकाको बजेट मनोमानी चलाएको भन्दै अध्यक्ष जैसवालसंग सोधपुछ गर्न पुगेकी उपाध्यक्ष चौधरीमाथि अध्यक्ष जैसवाल, वडा नम्बर ३ का वडा अध्यक्ष सलिम मिया र वडा नम्बर ५ का वडा अध्यक्ष रुपलालकुमार यादवको मिलिमतोमा गत आइतबार हातपात र दुव्र्यवहार भएको बताइएको छ । सर्वदलीय बैठकमा उपाध्यक्ष चौधरीले अध्यक्ष जैसवालले आफूमाथि दुव्र्यवहार भएको आरोप लगाउदै न्यायको माग गर्नु भएको थियो ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ औराहा पंचगावास्थित शिव मन्दिर प्रङ्गणमा उपाध्यक्ष चौधरीको अध्यक्षतामा भएको बैठकमा नेपाली काङ्ग्रेस गाउँपालिका सभापती जयराम महतो थारु, काङ्ग्रेसका युवा नेता शैलेन्द्र यादव, नीर गिरी, अफजल अन्सारी, नेपाल कम्युनिष्ट पार्टी एमाले गाउँपालिका अध्यक्ष बासुदेव महतो, भुपदेव राय, वडा नम्बर १ का वडा अध्यक्ष विश्वनाथ पटवारी, वडा नम्बर ६ का अध्यक्ष लालबाबु यादव, वडा नम्बर १ का वडा सदस्य पारस चौधरी, माओवादी केन्द्रका लालबिहारी राम, जनमोर्चा नेपालका तपसी राउत, सुशासन पार्टीका प्रदिप चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रीका सहनी र स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

बैठकपछि उपाध्यक्ष चौधरीमाथि हातपात गर्ने अध्यक्ष जैसवालमाथि कारबाहीको माग गर्दै ईलाका प्रहरी पटेर्वासुगौली कार्यालयका प्रहरी निरीक्षक रामकाजी थापाको रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई ज्ञापनपत्र बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा पनि बोधार्थ दिइएको सो ज्ञापन पत्रमा ३ दिनभित्र पनि घटनाका दोषिमाथि कारबाही नभए सर्वदलीय समितिले संयुक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here