हुनत् हामी सानो संचार माध्यम । अझ मोफसलमा छौं । नेपालभन्दा हजारौं किमी टाढा युक्रेन भन्ने देश छ । युक्रेन लगभग नेपाल जत्रै छ । तर आज ऊ रोइरहेको छ । उमाथि सोभियत संघको नेतृत्व गरिरहेको रुसले आक्रमण गरेर त्यो देशलाई रोवाइरहेको छ । युक्रेनको पनि केही अर्थमा कमजोरी होलान तर सानो मान्छेले कमजोरी वा गल्ती गरेको खण्डमा ठूलो मान्छेले कुट्नु र यातना दिनु कति जायज होला ? रुसको बारेमा पनि यही कुरा विचारणीय छ ।
यो हाम्रो कुरा रुसले त सुन्न नसक्ला वा ऊ भएको ठाउँमा पुगी नहाल्ला तैपनि मानवताको हिसावले युक्रेनको पक्षमा आज सबै उभिन आवश्यक छ । आजको यो युगमा पनि बलको घमण्डका कारण एउटा देशमाथि अर्को देशले आक्रमण गर्नु आपत्तिजनक कुरा हो । यो बर्बरताको जति नै निन्दा गरेपनि कमै हुन्छ ।
बिश्वका सबै नागरिकहरुले आज रुसी कदमको बिरोध गरेका छन् । तरपनि रुसले सुनेको छैन । युक्रेनलाई सिध्याएर रुसले कहिल्यै फाइदा हुदैन । उसले जीत त हासिल गर्ला तर मानवताका बिरोधी क्रियाकलपले ऊ बिश्वमाझ एक्लो भइसकेको छ । तैपनि अझै बिरोध गर्न आवश्यक छ । मानवताको पक्षमा उभिन सकिएन भने रुसका शासक पुटिन जस्ता घमण्डी र क्रुर शासकहरु फेरि जन्मन सक्नेछन् ।