काठमाडौं,मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराई–मधेसका जिल्लाहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाका अनुसार, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा विगत केही दिनदेखि अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस वा त्योेभन्दा बढी नै मापन गरिएको छ ।तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।
गर्मीले एक बटुवाको मृत्यु
रौतहटमा गर्मीले ढलेर एक बटुवाको मृत्यु भएको छ । अत्याधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका वडा नम्बर ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो ।साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव बकैया नदीको पुलमा ढलेको अवस्थामा फेला परेका थिए । साइकल रोकेर पुलमै छेउतिर ढलेकै अवस्थामा यादवको मृत्यु भएको हो ।घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय देवाहीगोनाहीको टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले यादवको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको बताएका छन्।घटनाबारे अन्य किसिमले पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको भनाई छ ।



















