जियालाल चौधरी

कोल्हबी,नेकपा एमालेका नेता एंव युवा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पार्टी एकताको लागि पार्टी अध्यक्ष केपी ओली नै बाधक रहेको बताउनुभएको छ । बाराको कोल्हबीमा शनिबार आयोजित पार्टीको बारा क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको विस्तारित बैठकमा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले पार्टी एकताको लागि समर्थक र तल्लो तहका कार्यकर्ताबीच कुनै समस्या नभएको तर अध्यक्ष ओलीका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभयो ।

‘सन्तुलन मिलाएर इमान्दारितपूर्वक पार्टी र सरकार चलाएको भए पार्टीमा यो समस्या आउने थिएन, उहाँले भन्नुभयो, छलछाम र तिकडम गरेर पार्टी र सरकार चलाउन खोजेपछि समस्या आयो ।’ नेता पौडेलले आफैले बनाएको नेकपा पार्टी अध्यक्ष ओलीले फुटाएको, एकताको नाममा पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई त्यागेको र पटकपटक संसद विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले आफनो स्वार्थको लागि पार्टी एकीकरण र विभाजन गरेको र निजी कम्पनीको रुपमा पार्टी संचालन गर्न खोजेकोले समस्या उत्पन्न भएको बताउनुभयो । ‘पार्टीलाई एकढिक्का बनाएर अघि बढनु पर्ने अवस्थामा, आफुबाहेक महाधिवेशनबाट चुनिएका उपाध्यक्ष लगायत अन्य सबै पदाधिकारीहरुको पद खारेज गरियो ।’ महाधिवेशनबाट निर्वाचित कुनै पनि पदाधिकारीलाई कसैले पनि निकाल्न नपाउने उहाँले बताउनुभयो ।

नेता पौडेलले पार्टीका कुनै कार्यकर्ताले पनि पार्टी विभाजन नचाहेको बताउनुभयो । तर ओलीले पार्टीका नेताहरुमाथि अपमान गरेर एकताको वातावरण बिगारेको पनि बताउनुभयो । अध्यक्ष ओलीको प्रवृत्तिमा सुधार नभए पार्टी विभाजन पनि हुन सक्ने उहाँले बताउनुभयो । आफुहरु अन्तिमसम्म पनि एकताको पक्षमा उभिने बताउदै नेता पौडेलले तर ओलीले ठाउँ दिएनन भने पार्टी विभाजन हुन सक्ने पनि सुनाउनुभयो । ‘जतिसुकै अपमान सहेर पनि हामी एकताको लागि लागिपर्ने छौं, उहाँले भन्नुभयो, कुनै उपाय लागेन भने पार्टी विभाजन हाम्रो अन्तिम विकल्प हुने छ ।’

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य दिनेश राई, एमाले बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, उपाध्यक्ष देवनारायण चौधरी, सचिव एम समिउल्लाहा र जिल्ला कमिटी सदस्य लिलादेवी लामिछाने लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला कमिटीका सदस्य एकबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

बैठकले एमालेको पार्टी एकताको लागि जुनसुकै अवस्थामा पनि दृढतापूर्वक उभिने र जिल्लामा पार्टी संघठन विस्तारको लागि ४ वटै निर्वाचन क्षेत्रमा विस्तारित बैठक तथा संघठित सदस्य वितरण अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here