नरेश गुप्ता
बरियारपुर,नेशनल प्याब्सन बाराले शुभदिपावली तथा छठ पर्वको अवसरमा शनिबार बाराको महागढीमाईमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेशनल प्याब्सनका केन्द्रीय सचिव एंव निजगढस्थित होली एन्जल्स बोडिङ्ग स्कुलका संचालक नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जिल्लाका विभिन्न्न पालिकामा निजी विद्यालय संचालकहरुबीच आपसमा शुभकामना आदानप्रदान भएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सचिव शर्माले सरकारको गलत नीतिका कारण संस्थागत विद्यालयहरु धारासायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको थियो । ‘राज्यको निजी विद्यालयहरुलाई हेर्ने दृष्टिकोण गलत र बिभेदकारी छ, सचिव शर्माले भन्नुभयो, सरकारीस्तरको भेदभाव सहेर पनि विद्यालय चलाइ राख्नु चानचुने कुरो होइन ।’
करोडौंको लगानीमा संचालन गरिएका निजी विद्यालयहरुलाई राज्य पक्षले कुनै सेवा सुविधा नदिएको बरु उल्टै हेला र अपमान हुने कार्य गरेको शर्माले बताउनुभयो । निजी विद्यालयमा अध्ययन गर्ने गरिब र असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति सुविधाबाट समेत बंचित गरेर सरकारले विभेदको नमूना पेस गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेशनल प्याब्सनको केन्द्रीय ससचिव चन्द्रीका गुप्ताले देशमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न निजी विद्यालयले पुर्याएको योगदानको उपेक्षा गरिएको बताउनुभयो । सरकार विभेदकारी भएपनि नागरिक समाजले भने निजी विद्यालयहरुले पुर्याएको योगदानको सही मूल्याङ्कन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा जिल्ला उपाध्यक्ष बिनोदमणी मण्डल, पुनदेव चौधरी, प्याब्सनका सल्लाहकार भरतबहादुर मल्ल, मंगेश्वर यादव, वसन्त ढकाल, एन प्याब्सन प्रदेश नम्बर २ का सचिव जितेन्द्र यादव, प्रदेश सद्स्य राजकिशोर साहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन नेशनल प्याब्सन बाराका सहसचिव वसन्त घिमिरेले गर्नु भएको थियो ।
‘निजी विद्यालयको योगदान अतुलनीय’
जनता समाजवादी पार्टीका केन्द्रीय सद्स्य एव सांसद प्रदिप यादवले शिक्षाको गुणस्तर सुधारमा निजी विद्यालयको योगदान अतुलनीय रहेको बताउनु भएको छ । ओम नेशनल एकेडेमी (+२ साईन्स) वीरगन्जले शनिबार आयोजना गरेको फेयरवेल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
वीरगन्ज आर्थिक नगरी हुनुको साथै उच्च शिक्षाको लागि शैक्षिक हब समेत बन्दै गएको उहाँको भनाइ थियो । देशका कर्णधार विद्यार्थी नै भएकोले उनीहरुको भविष्यलाई उज्यालोतर्फ लैजान अभिभावक तथा शिक्षकको समेत दायित्व रहेको उहाँले बताउनु भयो । देशको शैक्षिक गुणस्तर उकास्न निजी विद्यालयको ठूलो योगदान रहेको उहाँले बताउनु भयो ।
ओम नेशनल एकेडेमीले गण्डकस्थित कलर्क रिसोर्टमा आयोजना गरेको फेयरवेल कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई स्वागत र १२ को विद्यार्थीलाई बिदाई गरिएको थियो । ओम नेशनल एकेडेमी वीरगन्जका निर्देशक डाः लालबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्राध्यापक, विद्यार्थी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


















