नरेश गुप्ता
बरियारपुर,सिम्रौनगढ नगरपालिकामा किर्ते हस्ताक्षर प्रकरणमा थप ३ जना सद्स्यको हस्ताक्षर किर्ते रहेको पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकाले २०७७ असार ८ गते आयोजना गरेको नगर परिषदमा गणपुरक संख्या नपुगेकोले संख्या पुर्याउन भन्दै किर्ते हस्ताक्षर गरिएको भनी कार्यपालिका चारजना सद्स्यले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख बिजयशंकर यादव, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवाल, लेखा अधिकृत सर्वेन्द्र चौधरी लगायतले कार्यपालिका सदस्य कपुलदेव साह, श्रीपती दुसादिन, रम्भा देबी, रमावती देबी कुशवाहा लगायत चारजनाको किर्ते हस्ताक्षर गरेको भनी उनीहरुले किर्ते हस्ताक्षर गर्ने उपर कारबाहीको लागि प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए । किर्ते हस्ताक्षर मुद्दा प्रकरणमा पक्राउ परेका कार्यालय प्रमुख र लेखा अधिकृत तारिखमा छुटेका थिए । निजहरूको हस्ताक्षर अनुसन्धानको क्रममा जाँच गर्न प्रहरीले पठाएकोमा शुरुमा एकजना कपिलदेव साहको किर्ते हस्ताक्षर रहेको पुष्टि भएर आएको थियो । बाँकी ३ जनाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा किर्ते हस्ताक्षर जाँचको लागि पठाइएको थप ३ जनाको पनि हस्ताक्षर किर्ते रहेको भनी राय प्रतिवेदन आई जिल्ला प्रहरी कार्यलय बाराबाट सरकारी कागज किर्ते मुद्दा दायर गर्ने गरि राय सहित जिल्ला सरकारी वकिल कार्यलयमा सकल फायल आएकोमा जिल्ला सरकारी वकिल कार्यलय बाराले मुद्दा नचल्ने भनी निर्णय गर्न खोजेकोले सिम्रौनगढ नगरपालिकाको स्थानीयबासी लगायत कार्यपालिका सद्स्यहरुले शुक्रबार सरकारी वकिल कार्यलयमा पुगेर मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गरेका छन ।
किर्ते हस्ताक्षर प्रकरणमा दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपा वडा नम्बर ४ का वडा अध्यक्ष राजेश यादवको अगुवाईमा कलैयामा शुक्रवार पत्रकार समेलन आयोजना गरि अपराधिलाई संरक्षण गर्ने काम सरकारी वकिल कार्यलयबाट भएको आरोप लगाएको थियो । सरकारी कागज किर्ते गर्ने व्यक्तिलाई उन्मुक्ति दिने काम भएकोले यसको विरोध गर्दै सम्विधानले दिएको हकमा अघात गर्ने काम सरकारी निकायबाट हुन गैइरहेकोले यसलाई तुरुन्त रोकी अविलम्व कानुनी कारबाही अगाडि बढाउन पत्रकार समेलनमार्फत उनीहरुले माग गरेका छन ।
यता जिल्ला सरकारी वकिल कार्यलय बाराका जिल्ला न्यायधिवक्ता जुद्वबहादुर आलेले किर्ते हस्ताक्षर सम्बन्धि मुद्दा प्रकरणमा उच्च अदालत वीरगन्जको राय निर्देशन आएको खण्डमा मुद्दा अगाडि बढाउने जानकारी दिनु भयो ।
सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख बिजयशंकर यादवले विपक्षी दलका केही वडा सद्स्यहरुले सिम्रौनगढको बिकास निर्माणकार्यमा अवरोध खडा गर्न खोजेको बताउनुभयो । पत्रकार समेलनमा सिम्रौनगढ नपा वडा नम्बर १० का अध्यक्ष हरिशंकर यादव, वडा ११ का वडा अध्यक्ष हेमचन्द्र जैसवाल, कार्यपालिका सद्स्य प्रमानन्द मुखिया, कार्यपालिका सद्स्य उषा पटेललगायत स्थानीयबसीको उपस्थिति रहेको थियो ।