कलैया,आगजनीको अभियोगमा जिल्ला अदालत बाराबाट दोषी ठहर भई जेल चलान गरिनुभएका संविधानसभा सदस्य एंव जसपा नेता प्रमोद गुप्ता र अरुण सिंह मंगलबार छैटौं दिनमा नै छुटनुभएको छ । ६ महिना कैद सजाय तोकिएका उहाँहरूलाई अदालतले बिहीबार जेल चलान गरेको थियो ।

जघन्य अपराधबाहेकमा १ वर्षसम्म कैद सजाय पाएका दोषी आचरणमा बसे र प्रतिदिन ३ सय रुपैयाँका दरले राज्यलाई रकम बुझाए छाड्न मिल्ने प्रावधान रहेको अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले बताउनुभयो । सोही प्रावधानअन्तर्गत निवेदन दिएका उहाँहरू न्यायाधीश प्रकाशप्रसाद पण्डितको आदेशमा रिहा भएको उहाले जानकारी दिनुभयो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ मा १ वर्षभन्दा कम सजाय भएकालाई प्रतिदिनको ३ सयको दरले तिरे कैदमुक्त गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

६ महिनाको कैदबापत ५४ हजार रुपैयाँ बुझाएर छुटेको गुप्ताले बताउनुभयो । गुप्ता र सिंह अदालतमा हाजिर हुन गएका बेला प्रहरीले नियन्त्रणमा लिएर दुबैजनालाई जेल चलान गरेको थियो । तेस्रो मधेस आन्दोलनको क्रममा २०७४ माघमा कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट शैलेश झाको गाडी जलाएको अभियोगमा गुप्तासहित दुवैलाई २०७४ माघ २५ मा अदालतले ६ महिना कैद राख्ने र पीडितलाई ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा क्षतिपूर्ति भराउने फैसला गरेको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली लागी भरत चोकमा कलैयाकै हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै आन्दोलनकारीले अस्पतालमा प्रदर्शन गर्नुका साथै चिकित्सकको कार जलाएका थिए । उक्त घटनामा सुपरिटेन्डेन्ट झाले गुप्ता र सिंहविरुद्ध जाहेरी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here