नरेश गुप्ता
बरियारपुर,जिल्ला समन्वय समिति बाराको निर्वाचन जेठ ३० गते सोमबार हुने भएको छ । बिहान ८ बजेदेखि १२ बजेसम्म जिल्ला समन्वय समितिका संयोजक, उपसंयोजक र ६ सदस्य पदको लागि हुने मतदानको आइतवार निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
कुनै पनि दलको बहुमत नभएकोले कांग्रेश, जसपा र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएका छन भने नेकपा एमाले लोसपा र विवेकशील साँझा पार्टीको मत लिएर जित निकाल्ने दाउमा देखिन्छ ।
संयोजक पदमा नेकपा एमालेको तर्फबाट नरेन्द्रकुमार साह र उपसंयोजकमा चण्डिका सापकोटा उप्रेतीले उम्मेदवारी दिएका छन भने गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका देवताल गाउँपालिका सभापति रामदयाल महतो धानुकले संयोजक र जसपाका पवनकुमार व्याहुतले उपसंयोजक पदमा उम्मेदवारी दिएका छन । लोसपा र विवेकशील साँझा पार्टीका प्रतिनिधिहरु भने तटस्थ देखिएका छन ।
जिल्लाका १६ स्थानीय तह मध्ये ५ पालिका प्रमुख÷उपप्रमुख र एउटामा उपप्रमुख जितेको नेकपा एमालेसंग ११ मत छ भने ४ पालिकामा दुबै पद जितेको नेपाली कांग्रेशसंग ८ मतमात्रै छ । त्यसैगरी जसपा र लोसपाले २÷२ वटा पालिकामा प्रमुख÷उपप्रमुख जितेका छन । फेटा गाउँपालिकाको दुबै पद जितेको विकेकशील साँझा पार्टीसंग भने २ मत रहेको छ ।
कुल ३२ मतदाता रहेको समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दलहरुले एकता गरेपछि लोसपा नेपाल र विवेकशील साँझा पार्टी निर्णायक हुने देखिएको छ । सबैभन्दा बढी पालिकामा जितेर जिल्लामा पहिलो बनेको नेकपा एमालेले जसपा र विवेकशीलसंग एकताको प्रयास गरिरहेको बताइएपनि दुबै दलले स्पष्ट धारण सार्वजनिक गरेका छैनन ।
यसैबीच लोसपा नेता एंव निवर्तमान जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंहले संयोजक पदको लागि दिनुभएको उम्मेदवारी आइतवार फिर्ता लिनुभएको छ । स्रोतका अनुसार नेकपा एमालेसंगको सहकार्यको लागि सिंहले उम्मेदवारी फिर्ता लिनुभएको हो ।