निजगढ,योगदानमा आधारित सामाजिक सुरक्षा बाध्यात्मक बनाइएको भन्दै निजगढ नगरपालिकास्थित विभिन्न बैंकका कर्मचारीहरुले सोमबार विरोध जुलुस गरेका छन् ।

निजगढ नगरपालिकाको शहीद चोकबाट शुरू भएको जुलुस पुर्वपश्चिम राजमार्ग हुदै बजार क्षेत्र परिक्रमापछि शहीद चोकमा आएर समापन भएको थियो । जुलुसमा सिटिजन, प्राइम, ग्लोबल, इन्भेष्टमेण्ट, कुमारी, बैंक अफ काठमाण्डु, प्रभु, माछापुच्टछ्रे, एनसीसी, युनाइटेड फाइनान्स लगायतका बैंक कर्मचारीहरु सहभागी रहेका थिए । बैंक कर्मचारीहरुले आफूले खाइपाई आएको सेवा सुविधा कटौति गरिएको र सामाजिक सुरक्षा कोष कर्मचारी हितविपरित भएको हुनाले विरोध गरेका हुन ।

त्यसैगरी योगदानमा अधारित सामाजिक सुरक्षा योजनामा असहमति जनाउँदै वीरगन्जस्थित वाणिज्य बैंकका कर्मचारी पनि आन्दोलित भएका छन् । सोमबार बिहान वीरगन्जको पुरानो बसपार्कमा ह्यासट्याग ब्याक अफ एसएसएफ लेखिएको प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकका कर्मचारीलाई जर्बजस्ती सामाजिक सुरक्षा योजनामा आवद्ध गरी खाइपाई आएको सेवासुविधा समेत कटौती गर्न लागिएको भन्दै बैंकिङ क्षेत्रका कर्मचारीले विरोध गर्दै आएका छन् । देशका विभिन्न स्थानबाट बैंकका कर्मचारीहरुले यसको विरोधमा आवाज उठाउँदै आएका छन् । उनीहरुले कोषमा आवद्ध हुन नसक्ने ५ वटा कारण देखाउँदै आएका छन् । आईएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरीत बैंक, बिमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टिभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको, खाइपाई आएको सेवासुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने उनीहरुको तर्क छ । सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले विरोधमा उत्रन बाध्य भएको वीरगञ्ज बैंकर ग्रुपस अध्यक्ष नितेश खड्कीले बताउनुभयो । विभेदकारी व्यवस्था नहटाउँदासम्म योजनामा संलग्न हुन सक्ने अवस्था नरहेको बैंकका कर्मचारी सन्तोष साहले बताउनुभयो ।

Leave a Reply