बरियारपुर, ४ असोज– संविधान दिवसको अवसरमा शनिबार बारा सदरमुकाम कलैयामा विरोध प्रदर्शन भएको छ भने जिल्लाको सिमरा, निजगढ र जितपुरमा खुसियालीमा दिपावली गरेर मनाइएको छ ।

संविधान संसोधनको माग गर्दै आएको जनता समाजवादी पार्टीले कलैयामा संविधान संशोधनको माग गर्दै विरोध प्रदर्शन गरेको हो । जसपा केन्द्रीय सदस्य एंव प्रदेश सासद पारस साहले संविधान संंशोधन नभएसम्म नेपाली जनताले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाइरहने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी बाराले कलैयामा आयोजना गरेको विरोध सभा कार्यक्रममा बोल्दै नेता साहले शनिबार सो कुरा बताउनुभएको हो । संविधानले नेपालका मधेसी, मुस्लिम, थारु र अन्य जनजातिको अधिकार कुण्ठित गरेको उहाँको टिप्पणी थियो । उहाँले नेपालको संविधान ०७२ अपूर्ण रहेको भन्दै तत्काल संसोधन हुनुपर्ने माग पनि गर्नुभयो ।

सभामा जसपाका नेता श्यामप्रसाद गुप्ताले संविधानमा रहेको विभेदको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमका अन्य वक्ताहरुले पनि यो संविधान मधेसी विरोधी रहेको भन्दै संसोधन हुनुपर्ने बताउनुभएको थियो । जबसम्म संविधान संसोधन हुदैन, तबसम्म मधेसी जनता चुप लागेर नबस्ने वक्ताहरुको भनाइ थियो । र्यालीमा देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंह, जसपाका नेता जितेन्द्र सिंह, शिवनाथ पटेल, प्रयाग राय यादव, रमेश यादव, अरुण सिंह, सन्तोष पटेललगायत नेता÷कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जसपाले केन्द्रीय पदाधिकारी बैठकको निर्णयबमोजिम संविधानको विरोधमा विरोध कार्यक्रम गरेको हो । यसअघि कलैयाको जानकी मन्दिरबाट निस्केको विरोध र्याली कलैया बजारको विभिन्न भागमा परिक्रमापछि भरत चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सिमरा– सिमराको बजानी र सिमराचोकमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । नेकपाका नगर कमिटी अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा बजनीमा भएको कार्यक्रममा शिक्षक चेतनाथ रिमाल, मालपोत कार्यालयका कर्मचारी कुन्दन यादब, समाजसेवी मदन तिमिलसिना, लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी युवा समाज बाराले सिमरा चोकमा दिप प्रज्वलन गरेको हो । सिमराको मुख्य चोकमा नेपालको नक्सा र झण्डा सहित समाजका युवाहरुले दिप प्रज्वलन गरेको समाजका अध्यक्ष सुशील ढकालले जानकारी दिनुभयो । यसैगरी जीतपुर बजारमा पनि छैठौँ संिवधान दिवसको अवसरमा शनिबार साँझ दिप प्रज्वलन गरिएको छ । नेकपाका नेता मनोजकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय नेकपा जील्ला सदस्य नेजारुल अंसारी, स्थानिय नेता राजुराज गिरी, अनिल गुप्ता, नुरुल्लाह अंराी लगाएतको उपस्थिति रहेको थियो ।

निजगढ– संविधान दिवसको अवसरमा युवा संजाल नेपालको आयोजनामा निजगढमा पनि शनिबार साँझ दिपप्रज्वलन गरिएको छ । पुर्वपश्चिम लोकमार्गस्थित शहीद चोकमा भएको सो कार्यक्रममा निजगढ नगरपालिका उपप्रमुख लिलादेवी लामिछाने, नेकपा प्रदेश २ सदस्य रविराज दङ्गाल, निजगढ नगर कमिटी सचिवालय सदस्य थानेश्वर सापकोटा, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइरालालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख लामिछानेले आवश्यकताअनुसार संविधान संसोधन गर्दै जानुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here