निजगढ, २९ भदौँ– निजगढ नगरपालिकाले राष्ट्रपति चुरे तराईमधेस संरक्षण विकास समिति कार्यान्वयन इकाइ भरतपुरसंग लाल खोला तटबन्ध निर्माणमा भएको खर्च विवरण माग गर्ने निर्णय गरेको छ ।

निजगढ नगर कार्यपालिकाको आइतबार बसेको बैठकले वडा नम्बर– १० स्थित लाल खोलामा तटबन्द गर्ने क्रममा भएको आम्दानी खर्चको विवरण कार्यालयलाईसमेत जानकारी गराउन अनुरोध गर्ने निर्णय भएको नगरपालिका सुचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो ।

राष्ट्रपति चुरे संरक्षण कार्यालयबाट लाल खोला तटबन्ध गर्न भनेर लाल खोला पार्किङ्ग उपभोक्ता समितिको नाममा गत आर्थिक वर्षमा प्राप्त भएको ४३ लाख ८० हजार ८० रुपैया कामै नगरी हिनामिना भएको भन्ने समाचार सार्वजनिक भएपछि सोको बारेमा नगर कार्यपालिकाले पनि चासो राखेको हो ।

कर्मचारीको मिलिमतोमा समितिका सदस्यहरुले केही जालीमात्रै भरेर बाँकी रकम भागबण्डा गरेको आरोप छ । हिनामिनाको रकम भागबण्डा गर्ने क्रममा समितिका केही सदस्यहरुबीच नै कुरा नमिलेपछि अनियमितताको घटना बाहिरिएको थियो ।

यसअघि स्थानीयले पनि जिल्ला प्रशासन कार्यालय बारामा उजुरु हालेर छानविन र दोषिमाथि कारवाही माग गरेका थिए । स्थानीयले कार्यक्रमको कार्यविधि विपरित आम उपभोक्ताहरुको भेला नगरी उपभोक्ता समिति गठन गरेको, वडा अध्यक्ष पद्मबहादुर मोक्तानले काम पुरा नहुदै सम्पन्नको सिफारिस दिएको र समितिका सचिव मेघराज मोक्तानको घरभित्र लुकाएर राखिएको तारजाली केही दिनअघि राति ११ बजे ट्ेक्टरमा लोड गरेर अन्यत्रै लगिएको उजुरीमा उल्लेख गरेका छन ।

यसैबीच उपभोक्ता समितिले बाँकी तारजाली भर्ने कार्य शुरु गरेको छ । समितिले कार्यक्रम अन्तरगत भर्न बाँकी भनिएको १ सय ३७ थान जाली भर्ने कार्य शुरु गरेको हो ।

Leave a Reply