वीरगंज, १५ साउन– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट वीरगंजमा बुधबार थप दुई जनाको मृत्यु भएको छ । योसँगै पर्सामा कोरोनाका कारण ७ को मृत्यु भएको छ भने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
वीरगंजमा बुधबार विहान ६८ वर्षिय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो अर्का ७१ वर्षिय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामासमेत समस्या देखिएको थियो । साउन ११ गते नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएका वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले जानकारी दिनुभयो । उनको आफैले पैसा तिरेर परीक्षण गराइएको परिवारका सदस्यले बताएका छन् । वृद्धमा किड्नीसँगै निमोनिया समस्या पनि रहेको बताइएको छ । त्यस्तै, अर्का मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी रहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । गण्डक कोभिड अस्पतालमा ड्युटीमा रहेका डा. निरज सिंहले स्वास्थ्यमा सुधार हुँदै गर्दा अचानक उनको बुधबार बिहान मृत्यु भएको बताउनुभयो । उता, मोरङका पनि एकजना ४५ वर्षीय पुरूषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको छ । उनलाई बुधबार अपरान्ह विराटनगरमा ल्याइएको थियो । बिपी प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले उपचारकै क्रममा उनको बुधबार साँझ पौने ५ बजे निधन भएको जानकारी दिनुभयो । यसअघि बिपी प्रतिष्ठानमा उपचारका क्रममा सप्तरी र धनुषाका दुई जनाले ज्यान गुमाइसकेका छन ।

Leave a Reply