निजगढ, साउन ७– सरकारले बर्षायामका ३ महिना खोलाबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको भएपनि निजगढ नगरपालिका वडा नम्बर ४ स्थित बकैया खोलामा भने ढुङ्गा, बालुवाको अवैध उत्खनन राकिएको छैन । स्थानीय ट्याक्टर व्यवसायीले खोलबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर व्यापारीलाई बिक्री गर्ने गरेका हुन । व्यवसायीले दिनहु दर्जनौं ट्याक्टर खोलामा लगेर ढुङ्गा निकाल्ने गरेको स्थानीयले बताएका छन । बिहान सबेरैदेखि साँझसम्म बकैया खोलामा उत्खनन हुने गरेको उनीहरुको भनाई छ ।
यसैबीच इलाका प्रहरी कार्यालय निजगढको टोलीले अवैध उत्खननमा संलग्नहरुलाई नियन्त्रण गर्न बुधबार गरेको प्रयास विफल बनेको छ । प्रहरी आउदै गरेको सुचना पाएपछि चालकहरुले खोलाबाट नै ट्याक्टर भगाएकाले नियन्त्रण प्रयास असफल बनेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक संजय यादवले बताउनुभयो ।
केही ट्याक्टरका चालकले टेलर छोडेर भागेको र बगरमा फेला परेका टेलरको प्रहरीले हावा खोलेर छोडेको यादवले जानकारी दिनुभयो । त्यसैगरी टेलरबाट प्रहरीले ३ थान हाइ«ोलिक जगसमेत नियन्त्रमा लिएको छ । स्थानीयले अवैध उत्खनन भइरहेको सुचना दिएपछि प्रहरी टोली बिहान सबेरै खोलामा पुगेको थियो । प्रहरीले अवैध उत्खनन नियन्त्रण गर्न थप कडाइ गर्ने पनि बताएको छ ।
बाढी पहिरो र नदी कटानको जोखिम बढने भन्दै सरकारले असारदेखि भदौ ३ महिनासम्म देशभरीका खोला बगरबाट उत्खननमा रोक लगाउदै आएको छ । तर निजगढका स्थानीय टक्टर व्यवसायीले भने आर्थिक प्रलोभनमा परेर बकैया खोलामा कानुन विपरित बाह्रै महिना उत्खनन गर्दै आएका छन ।