कृपा संवाददाता
निजगढ – उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले पार्टी र सरकार चलाउने विषय फरकफरक भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा निजगढ नगर कमिटीले मंगलबार निजगढमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै मन्त्री पोखरेलले दलिय व्यवस्थामा पार्टीको योजना अनुसार नै सरकार चल्नुपर्ने भएपनि दुबैका निश्चित सिमा र क्षेत्र रहेकाले अलगललग रुपमा काम गर्नु बताउनुभयो ।
सरकार संचालन गर्ने विषयमा विभिन्न किसिमबाट चर्चा हुन थालेको भन्दै यस बारेमा पार्टी नेता र कार्यकर्तालाई व्दीविधामा नपर्न पनि उहाले आग्रह गर्नुभयो । पार्टीले सरकारलाई नितिगत रुपमामात्र निर्देश गर्न सक्ने पनि उहाको भनाइ थियो । पार्टी र सरकारको काम प्रभावकारी तुल्याउनको लागि पार्टीले निति र योजना बनाएर दिनुपर्ने र सरकारमा प्रतिनिधित्व गर्नेले पनि सोही अनुसार काम गर्न प्रयास गर्नुपर्ने उहाको भनाइ थियो ।
उहाले सरकारमा पुगेकाले पार्टीले निर्वाचनको बेला पार्टीले जारी गरेको घोषणा पत्र अनुसार काम गर्नु पर्ने पनि बताउनुभयो । पार्टीले चलाउने नाममा सबै कुरामा डिक्टेट गर्न थालियो भने सरकार संचालनमा समस्या आउनसक्ने उहाले उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले मन्त्री सुन्दा राम्रो लागेपनि पार्टीले सबै थोक चलाउने कुरा व्यवहारिक नभएको पनि बताउनुभयो ।
०४८ सालमा जितेका आफना सबै सभासदलाई काठमाण्डौंमा उनीहरुको लागि बस्ने कोठा र खानेकुराको समेत पार्टीको निर्णय अनुसार व्यवस्थापन गर्न खोजिएकोमा असफल भएको पनि सुनाउनुभयो । संघीय, प्रदेश सरकारका मन्त्री, सभासद र स्थानीय तहका जनप्रनिनिधि र अन्य प्रतिनिधिहरुको हकमा पनि यही कुरा लागु हुने उहाको भनाइ थियो । उहाले पुर्व प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटोको अडियो प्रकरण बारे सरकारका विभिन्न निकायले छानविन गरिरहेकाले सो विषयमा तत्कालको लागि पार्टीबाट थप कुनै निर्णय गर्न जरुरी नभएको पनि बताउनुभयो ।


















