जातिय दवाव, अभाव र अशिक्षाका चिर्न शिक्षा जरुरी: सुरेश कुमार राम
पुष्पराज खतिवडा
मन्हर्वा – सामान्य तया तराई मधेशमा दलित समुदायका बालबालिका स्कुल जाँदैनन् । गईहाले पनी दुईचार कक्षाबाटै पढाई छाड्ने र कलिलै उमेरमा विवाहबारी गरी बस्ने गरेको पाईन्छन् । समाजका सबैको आर्थीक अवस्था कमजोर हुँदा पारिवारिक तथा सामाजिक वातावरणले नै वालबालिकाको शिक्षामा खासै महत्व दिएको पार्इंदैन ।
यही समुदायका सुरेश कुमार राम भने समाजका दुई दर्जनबढी बालबालिकालाई टिउसन पढाएर आफु पनी पढिरहेका छन् । बारा जितपुरसिमरा उपमहानगरपालिका १८ पराँसटोलका २० बर्षिय सुरेश टिउसन फिसबाट ब्याचलर गरिरहेका छन् । उनीसँग स्थानिय २५ बालिबालिका नियमित टिउसन पढ्न आउने गरेका छन् । मासिक एकसय देखी ३सय रुपैंया सम्म बालबालिकाका अविभावकले सुरेशलाई फिस तिर्ने गरेका छन् ।
मासिक उठ्ने करिब ४ हजार रकमले सुरेशले आफुसँगै भाई बहिनीको समेत पढाई खर्च चलेको बताए । आफु ८ कक्षामा पढ्दा देखी तल्लो कक्षा साना बालबालिकालाई गाउँमै टिउसन पढाउन थालेका रहेछन् । उनले टिउसन पढाउन थालेकै ७ बर्ष भयो ।
उनले पढाउने मात्रै नभएर बालबालिकालाई मासिक रुपमा परिक्षा समेत लिने गर्दा रहेछन् । जस्का कारण उनीसँग पढ्ने बालबालिका अन्यको तुलनामा अब्बल रहेका छन् । सुरेशले पढाएका बालबालिका स्कुलमा सँधै राम्रो अंक ल्याउनेमा पर्ने गरेको नेपाल राष्टिय माध्यमिक विद्यालय मनहर्वाका शिक्षक प्रमोद पौडेलले बताए ।
आर्थीक रुपमा कमजोर सुरेशको सातजनाको परिवार छ । आर्थिक अभावसँग सामना गर्न नसकेपछी सुरेशका माईला भाई मुकेशले भने १० कक्षा पास गरेर पढाई छाडे । उनी अहिले फर्निचरको काम सिक्दैछन् । अर्काभाई रुपेश कक्षा ५ र बहिनी निर्मला नेपाल राष्टिय माध्यमिक विद्यालय मनहर्वाको ७ कक्षामा पढ्दै छिन् । उनीहरुको आवश्यक खर्च समेत सुरेशले टिउसन फिसबाटै गर्दै आएका छन् ।
बाबु बुटाई नजिकैको ईटा भट्टाका मजदुर हुन् ,भने आमा अदरी देवीले एउटा भैसि पालेर परिवारका सदस्यको सेवामा दिन विताउँछिन् । जग्गा जमिन समेत नभएका राम परिवार बस्ने झुपडी समेत गतिलो छैन । यद्यपी सोही झपडीका मानिस अन्य दलित परिवारका लागि उदाहरणिय छन् । त्यसमा पनी परिवारका जेठा सन्तान सुरेशले शिक्षा विनाको अवको संसार अन्धकार जस्तै हो भन्ने बुझेका छन् । जातिय दवाव, अभाव र अशिक्षाका कारण दलित समुदाय पछाडी परेको हो । सबै कुरालाई चिर्न शिक्षा जरुरी रहेछ ,त्यसैले आफु र आफ्ना समुदायका लागि मेहनत गरिरहेको सुरेशले बताए ।
रामराजा बहुमुखी क्याम्पस कलैयामा दैनिक अध्ययन र बालबालिको पढाईलाई मिलाउन शुरेसले एउटा सेकेन्डह्याण्ड मोटरसाईकल समेत किनेका छन् । ११ र १२ कक्षामा गणित विषय लिएर पढेका उनी हाल ब्याचलर भने स्वास्थ्य तथा जनसंख्या विषयमा गर्दै रहेछन् । उनको गाउँबाट अहिले सम्म कुनै दलित यूवाले ब्याचलर पढेका छैनन् । त्यस्तै सरकारी जागिर पनि खाएका छैनन् ।
सुरेशलाई भने सरकारी जागिर खाने र डिग्री सम्मको पढाई गर्ने ईच्छा छ । त्यसका लागि सुरेशले लोकसेवा तयारी समेत गर्दै राष्टिय अनुसन्धानका लागि हेटौंडाबाट फारम समेत भरेको बताए । सरकारी सेवामा नाम निकाल्ने हिम्मत गरेको छु । तर सरकारी जागिर खान भनसुन र घुस दिनु पर्छ भन्ने सुनेको छु । त्यसकालागि आफ्नो परिवारमा सामथ्र्य नभएकाले मेरो मेहनत खेर जान्छ की भन्ने उत्तीकै चिन्ता लागिरहेको सुरेशले बताए ।