कलैया,कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेको बसपार्कलाई व्यवस्थित बनाएर संचालन गर्ने तयारी गरेको छ । नगरको वडा नम्बर ४ मा अवस्थित बसपार्कलाई व्यवस्थित गरेर बैशाख १ गतेदेखि संचालन गर्ने उपमहानगरपालिकाको तयारी छ ।

नगर प्रमुख विनोद साहको अध्यक्षतामा बुधवार उपमहानगरपालिकाको सभाहलमा बसेको सर्वपक्षीय बैठकले बसपार्क संचालनका लागि आवश्यक तयारी चैत्र मसान्तभित्र सम्पन्न गर्ने र बैशाख १ गतेदेखि विधिवत रुपमा बसपार्क संचालन गर्ने निर्णय गरेको हो । बसपार्क संचालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाउने भएको छ ।
बैठकमा कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षा प्रमुखहरु, बस तथा अन्य यातायात व्यवसायी संघका प्रतिनिधि उपस्थित थिए ।

यसैगरी सर्वपक्षीय बैठकमा नगर प्रमुख साहले ई–रिक्सा तथा अन्य साना सवारीहरुलाई रुट अनुसार संचालन गर्ने र भाडा निर्धारण गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । साहले साना सवारीलाई उपमहानगरपालिकामा दर्ता अनिवार्य गर्न लागिएको समेत बताउनुभयो ।यसअघि नगर प्रमुख साह, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायको टोलीले बसपार्क संचालनमा ल्याउने विषयमा स्थलगत निरीक्षण गरेको थियो ।

Leave a Reply