सिमरा,बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको तेस्रो संस्करण आइतवारदेखि शुरु हुँदैछ ।
सिमरा भेट्रान क्लबको आयोजनामा आईतबारदेखि सुरु हुन लागेको प्रतियोगिता सिमरा रङ्गशालामा १३ गतेसम्म चल्ने आयोजकले जनाएको छ । स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष भारत, बंगलादेश र नेपालका गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन् ।आयोजकका अनुसार प्रतियोगितामा भारतको दार्जिलिङ टाउन भेट्रान, क्लिभ हाउ भेट्रान क्लब कलकत्ता, बंगलादेशको भेट्रान एफसी, नेपालको चाबहिल भेट्रान, अभिषेक चर्च नवलपरासी, चितवन भेट्रान, वीरगञ्ज युथ एकेडेमी, युनिटी भेट्रान पर्सा, फ्रिडम फाईटर क्लब काठमाडौं, नव जनजागृति युवा क्लब भेट्रान सिहरा, इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा र आयोजक क्लबको सहभागिता रहनेछ ।प्रतियोगिताको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजकपुर राउतले प्रतियोगिताको सबै तयारी पुरा भएको बताउँनुभयो । उहाँले स्थानीय स्तरबाट प्राप्त साथ र सहयोगले प्रतियोगिता आयोजना गर्न आफूहरु उत्साहित रहेको पनि बताउँनुभयो ।फ्लड लाईटमा हुने रात्रिकालिन प्रतियोगितामा विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here