सिकिन्द्र साह
सिम्रौनगढ,सिम्रौनगढ बजारको विकासको लागि शुक्रवार सिम्रौनगढ उद्योग वाणिज्यसंघको सभा कक्षमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा स्थानीय व्यापारी र बासिन्दाले सिम्रौनगढस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नति र क्वारेन्टाइन व्यवस्थापनको माग राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सिम्रौनगढको समग्र विकासका लागि भन्सारको स्तरोन्नति आवश्यक भए पनि ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थलहरूको विकास पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । उहाँले यहाँ छरिएर रहेका ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका कलाकृति तथा वास्तुकलाको संरक्षण गर्दै यस क्षेत्रको सौन्दर्यकरण गरे आन्तरिक तथा बाह्य पर्यटक र धार्मिक यात्रीहरूको आगमन बढ्ने र यसले समग्र क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपालबाट भारततर्फ निर्यात हुने वस्तुहरूको प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने पनि बताउनुभयो । सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा सिम्रौनगढ नगर प्रमुख किशोरीप्रसाद कलवार, जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी उपरीक्षक सन्तोष तामङ्ग, सशस्त्र प्रहरी बाराका उपरीक्षक खेमबहादुर केसी, राष्ट्रिय अनुसन्धान बाराका उपरीक्षक दीपक खडका, उद्योग वाणिज्य संघ सिम्रौनगढका पूर्वअध्यक्षहरू जयन्त कुशवाहा र अवधेश सहनीलगायतले आआफ्नो धारणा राखेका थिए।



















