कलैया,जेनजी एन्ड यूथ अफ बाराले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई एकैदिन दुई वटा अलग–अलग ज्ञापनपत्र बुझाएको छ ।सङ्गठनले सार्वजनिक तथा धार्मिक स्थलमा युवाहरूबाट हुने खराब गतिविधि रोक्न र केही पालिकाहरूबाट अवैध रूपमा सवारी कर तथा वातावरण शुल्क उठाउने कार्य तत्काल बन्द गर्न माग गरेको हो ।
कलैया उपमहानगरपालिकाकालगायत जिल्लाका पालिकाहरुमा रहेका विभिन्न धार्मिक र सार्वजनिक स्थलहरूमा केही उच्छृङ्खल युवाहरूको समूहले गाँजा, चुरोट र प्रतिबन्धित औषधि सेवन गर्दै धार्मिक स्थल घुम्न गएका महिलाहरूलाई जिस्क्याउने घटना व्यापक बढेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
विगतमा यस्ता कार्य गर्नेहरूलाई दण्ड र जरिवाना भएपछि केही घटना घटे पनि हाल फेरि यस्ता गतिविधि बढ्न थालेको भन्दै सङ्गठनले तुरुन्त कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।

त्यस्तै अर्को ज्ञापनपत्रमा स्थानीय तहबाट सवारी साधनमा कवाडी कर, वातावरण शुल्क तथा विभिन्न नाममा अवैध कर असुली भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गरिएको छ । नेपालको संविधानको धारा ११५ बमोजिम कानुनबमोजिम बाहेक कुनै पनि व्यक्ति वा फर्मबाट कर उठाउन नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै सङ्गठनले गृहमन्त्रीको च.नं. ६८५ मिति २०८१-०७-१२ को परिपत्रबाट समेत यस्ता शुल्क नउठाउने निर्देशन दिइएको जनाएको छ ।“यस कार्यलाई बेवास्ता गर्दै बाराका केही गाउँपालिका र नगरपालिकाहरूले अवैध कर असुली गरिरहेका छन्,” ज्ञापन पत्रमा भनिएको छ, “जसले सर्वसाधारण नागरिक, किसान, यातायात व्यवसायी र सेवाग्राहीहरूलाई अनावश्यक आर्थिक भार पारेको छ र कानुनी शासनको मर्ममाथि आघात पु¥याएको छ ।”

जेनजी एन्ड यूथ अफ बाराले सम्बन्धित सबै गाउँपालिका तथा नगरपालिकालाई यस्ता अवैध कर असुली कार्य तत्काल रोक्न, कानुनी प्रक्रिया अघि बढाउन र सम्बन्धित निकायबाट छानबिन गरी आवश्यक कदम चाल्न जोडदार माग गरेको छ ।सङ्गठनका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी मिश्रलाई बुझाएको दुवै ज्ञापन पत्रमा उक्त गैरकानुनी र संविधान विपरीत कार्य तत्काल रोक्न र पीडितहरूलाई न्याय दिलाउन अनुरोध गरेका छन् ।

Leave a Reply