निजगढ,राष्ट्रिय स्वतन्त्र पार्टी बाराले स्थानीय तह र प्रदेश सभाको आगामी निर्वाचनको लागि ‘टिकट’ वितरण सुरु भएको भनेर केही माध्यमहरुमा सार्वजनिक भएको समाचारप्रति ध्यानाकषर्ण भएको जनाएको छ ।पार्टी सभापति चन्दनकुमार स्वर्णकारले आज विज्ञप्ति निकालेर विगत केही समयदेखि पार्टीसँग आबद्ध वा अन्य केही व्यक्तिहरूले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिका र प्रदेश सभाको “टिकट“ वितरण भइरहेको वा बाँडफाँड गरिएको भन्ने सूचनाहरू विभिन्न माध्यमबाट प्राप्त भइरहेकोले गम्भीर ध्यानाकर्षण भएकोभन्दै त्यस्तो भ्रामक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी, बाराले हालसम्म कुनै पनि तह (वडा, पालिका, प्रदेश) को टिकट कसैलाई पनि वितरण नगरिएको जानकारी गराउँदै टिकट वितरण प्रकृयाको बारेमा समेत स्पष्ट पारेको छ । ‘टिकटको सम्बन्धमा भ्रमपूर्ण हल्लाको पछि नलाग्न र आधिकारिक माध्यमबाट आउने सूचनालाई मात्र विश्वास गर्न हामी सम्पूर्ण बाराबासी र पार्टीका सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा पार्टीको विधान बमोजिम प्रारम्भिक निर्वाचन वा पार्टीको विधानले तोकेको विधि अनुसार मात्रै कुनै पनि तहको टिकट वितरण हुने पनि विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीको विधान र पद्धति विपरित आफू खुसी कसैलाई टिकट दिने आश्वासन दिने वा टिकट बाँडेको प्रमाण भेटिएमा त्यस्ता व्यक्तिहरू जुनसुकै तहको जिम्मेवारीमा भएपनि पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गरी कडाभन्दा कडा कारबाहीको सिफारिस गरिने छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञाप्तिमा रास्वपा बाराको सांगठनिक संरचनामा भाँडभैलो गर्ने तत्वहरुलाई चेतावनीसहित सचेत पनि गराइएको । ‘वि.सं. २०७९ भदौ २९ गतेदेखि निरन्तर रूपमा एकताबद्ध र अनुशासित रहेको पार्टीमा “फोहोरी राजनीति“ गरी भाँडभैलो गर्न खोज्ने केही अराजक तत्वहरूलाई यस्ता गतिविधिहरू नगर्न सचेत गराइन्छ, र पार्टीको छवि धुमिल बनाउने प्रयास गरेको पाइएमा चुप लागेर बसिदैन ।’ भनिएको छ ।
त्यसैगरी पार्टीका सम्पूर्ण तहगत संरचना, समिति तथा विभागहरूलाई कुनै पनि भ्रममा नपरी आफ्नो सांगठनिक विस्तार र पार्टीको नीति–नियम बमोजिमका कार्यहरूलाई तीव्रताका साथ अगाडि बढाउन पनि विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।विज्ञप्तिमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व रुपमा विजय गराउन मतदान गनुहुने सम्पूर्ण मतदाता, शुभेच्छुक तथा अहोरात्र खटिनुहुने सम्बन्धित क्षेत्रका साथीहरूमा जिल्ला समितिले धन्यवाद तथा आभार प्रकट गरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ– यो विजय केवल एउटा पार्टी वा चिन्हको मात्र नभई आम नेपाली नागरिकले परिवर्तनको पक्षमा गरेको सामूहिक क्रान्ति हो ।’


















