नेपालीहरुको समृद्धिको चाहना पूरा गर्ने अपेक्षा गरिएको काठमाडौँ–तराई-मधेस जोड्ने द्रुतमार्ग निर्माण कार्यले गरी गति लिन थालेको छ ।दक्षिण एसियाकै नमुना तथा सडक पूर्वाधार विकासकै मोडेलका रूपमा बन्दै गरेको यो राष्ट्रिय गौरवको द्रुतमार्ग बनेसँगै मुलुकमा नयाँ सम्भावना, विकास र अवसरका अनेकौँ ढोका खुल्ने छन् ।तराईदेखि काठमाडौँसम्म २१७ किलोमिटर दुरी अब ७२ किमिमा सीमित हुँदा आठ-दस घण्टाको जोखिमपूर्ण, कष्टकर र खर्चिलो यात्रा केवल एक घण्टामा पूरा हुने छ । विक्रम संवत् २०७४ मा सरकारले द्रुतमार्ग निर्माण जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि विभिन्न विदेशी कम्पनीमार्फत २०७९ फागुन १९ गतेदेखि द्रुतमार्ग निर्माण सुरु भएको थियो ।
हाल आयोजनाको ४५.१६ प्रतिशत भौतिक र ४५.३३ प्रतिशत वित्तीय काम सकिएको छ । द्रुतमार्ग २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेपछि यो आशा बढी पलmाएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले तोकिएको समयसीमाभित्रै द्रुतमार्ग निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको बताउनुभयो । झन्डै ११ किमि सुरुङमार्गमध्ये लेनडाँडा र धेन्द्रेको छिचोलिइसकेको र महादेवटार सुरुङको करिब ७० प्रतिशत काम सकिएकाले पनि आशा बढेको हो ।
काठमाडौँ–मुग्लिङ–नारायणघाटदेखि हेटौँडासम्म २२७ किमि लामो सडक दुरीलाई यस द्रुतमार्गले केवल ७०.९७७ किमिमै सीमित बनाउँदा इन्धन र समयको ठुलो बचत मात्र नभई सुरक्षित र भरपर्दो यातायातका कारण आर्थिक तथा पर्यटन क्षेत्रमा मुलुकले ठुलो फड्को मार्ने अपेक्षा पनि छ ।विशेषागरी द्रुतमार्गको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर रहने छ । बाढी पहिरोले समेत कुनै असर नगर्ने गरी बनाइने यस द्रुतमार्गले नेपालको यातायात क्षेत्रमै ठुलो क्रान्ति ल्याउने विश्वास छ ।सडक पूर्वाधारका कारण यातायात व्यवसायीले इन्धनमा ठुलो रकम खर्च गर्नु परेको समस्या भएपनि अब धेरै समस्या भने सृजना गर्न हुदैन ।















