मधेस सत्ता परिवर्तनको लागि निकै बद्नाम छ । महिनैपिच्छे मुख्यमन्त्री बनाउने अनि गिराउने खेलले बद्नाम बनाइएको छ र संघीयतामाथि नै प्रश्न उठाउने ठाउँ पनि दिइएको छ ।यही बीचमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेससभाको सिंगो सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित १० वटै दलका ९२ सांसदले यादवको पक्षमा मत दिएपछि अब पूरा कार्यकाल यो सरकार जान्छ कि भन्ने अनुमान गरिएको छ ।
प्रदेशसभामा रहेका सत्तापक्षीय दलसंगै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् । सत्ता बाहिर रहेका राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि विश्वासको मत दिएका छन् ।
हिजो भर्खर सत्ताको नेतृत्वमा पुगेको एमालेले समेत मत दिनु भनेको मधेसका लागि पनि रचनात्मक कुरा हो । सायद संघीयता बचाउने पक्षमा एमाले पनि संवेदनशील भयो होला यो आशा गरौं ।
नेपाली कांग्रेस संसदीय दलका नेता यादव सातदलीय गठबन्धन कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।मंसिर २१ गते पद तथा गोपनियताको शपथ लिएका उहाँले सोही दिन कांग्रेस, जनमत र एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गर्नुभएको थियो । पछिल्लो पटक मंसिर २९ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा माओवादी केन्द्र र लोसपालाई सरकारमा सहभागी गराइएको थियो ।
हाल मुख्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिमण्डल रहेको छ भने अझै ६ वटा मन्त्रालयले पूर्णता पाउन बाँकी छ । यो पनि टुंगाएर मधेसमा देखिएको सत्ताको समस्या समाधान होस् र सरकार पनि अब कम्तीमा पूरा कार्यकाल चलोस् मधेशका नागरिकहरुको चाहना यत्ति हो । सुुशासन पनि होस् यो दुई तिहाइको सरकारले अब जनताको पक्षमा निर्धक्कसंग काम गरोस् ।















