निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ निवासी समाजसेवी घनश्याम लम्सालले आफूले पाएको जेष्ठ नागरिक भत्ताको रकम क्यान्सर रोगबाट पीडित एक बालिकाको उपचारमा सहयोग गर्नुभएको छ ।बाराको निजगढस्थित रेडियो निजगढको कार्यालयमा समाजेवी लम्सालले निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालकी १२ वर्षिय बालिका रुथ रुम्बाको बुबा जयराम रुम्बालाई भत्ताबापत एक महिनाको ४ हजार नगद हस्तान्तरण गर्र्नुुभएको हो । ७५ वर्षिय लम्सालले वृद्धभत्ता बापत सरकारबाट मासिक ४ हजार रुपैया पाउदै आउनुभएको छ ।

बोनम्यारो क्यान्सरबाट पीडित रुथको आर्थिक अभावले उपचारमा समस्या भएको सुनेपछि आफूले भत्ताबापत पाएको एक महिनाको रकम सहयोग गरेको बताउनुभयो । ‘एकजनाको सहयोगले मात्रै त पुरै उपचार खर्च शंभव हुदैन, उहाँले भन्नुभयो, तर अरुले पनि यसरी नै अलिअलि भएपनि सहयोग गरे बालिकाको ज्यान जोगाउन मद्दत पुग्छ ।’ उहाँले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो ।सहयोग रकम बुझ्दै रुथका पिता जयरामले सरकारले दिएको भत्ताको रकम उपचार खर्चको लागि उपलब्ध गराएर लम्सालले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

काठमाण्डौंको कान्ति अस्पतालमा उपचारको क्रममा २ महिनाअघि बोनम्यारो क्यान्सर भएको पत्ता लागेपछि रुथको हाल भारतको नयाँ दिल्लीस्थित एम्स हस्पिटलमा उपचार भइरहेको छ । कान्ति अस्पतालका चिकित्सकले नेपालमा शंभव नभएको बताएपछि अभिभावकहरुले रुथलाई उपचारको लागि नयाँ दिल्ली लगेका हुन । उनको उपचारको लागि विभिन्न दाताहरुबाट हालसम्म ७ लाख ५० हजार सहयोग रकम संकलन भएको र थप ठूलो रकम आवश्यक पर्ने बुबा जयरामले बताउनुभयो ।सम्पतिको नाममा ३ कठ्ठा १० धुर मात्रै ऐलानी जग्गा र आम्दानीको अर्को कुनै स्रोत नभएकोले रुथको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न जयरामले सबैसंग आग्रह गर्नुभएको छ ।

Leave a Reply