जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाको सिंगो सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उपस्थित १० वटै दलका ९२ सांसदले यादवको पक्षमा मत दिएका हुन् ।प्रदेशसभामा रहेका सत्तापक्षीय दलसंगै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छन् । सत्ता बाहिर रहेका राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि विश्वासको मत दिएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता यादव सातदलीय गठबन्धन कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मंसिर २१ गते पद तथा गोपनियताको शपथ लिएका उहाँले सोही दिन कांग्रेस, जनमत र एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गर्नुभएको थियो ।पछिल्लो पटक मंसिर २९ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा माओवादी केन्द्र र लोसपालाई सरकारमा सहभागी गराइएको थियो । हाल मुख्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिमण्डल रहेको छ भने अझै ६ वटा मन्त्रालयले पूर्णता पाउन बाँकी छ ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री यादवले संसदीय गठबन्धनबीच भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको छ ।१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारलाई विश्वासको मतका लागि कम्तीमा ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । साथै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ ।


















