काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण नबनेको भन्दै प्रतिनिधिसभाको पुनस्र्थापना हुनुपर्ने बताउनुभएको छ ।पार्टीको ११औं महाधिवेशनको उद्घाटन समारोहमा उहाँले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा संविधान र लोकतन्त्रमाथि प्रहार गरेको भन्दै अरू दलहरूलाई पनि संसद् पुनस्र्थापनाको पक्षमा उभिन आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले भदौ २३ गते युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा शून्यता सिर्जना गरी अराजकता फैलाउने तयारीसहितको गम्भीर षडयन्त्र भएको बताउनुभयो ।प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र अनधिकृत भन्नुभएका ओलीले संविधानलाई लयमा फर्काउनुपर्ने जिकिर गर्नुभयो । दलहरूलाई कमजोर बनाएर देश नबन्ने भन्दै उहाँले उत्तरदायित्वविनाका पात्रहरूले देशलाई सङ्कटतर्फ धकेल्ने चेतावनी पनि दिनुभयो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने भन्दै उहाँले पछिल्लो समयमा विभिन्न शक्तिहरूले एमालेमाथि प्रहार केन्द्रित गरेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेले स्वतन्त्र र सार्वभौम राष्ट्रको अभ्यास गर्दा आक्रमण हुने गरेको बताउनुभएको छ ।
एमालेलाई कमजोर बनाउँदा नेपालीको सार्वभौम राष्ट्रियता कमजोर हुने ठानेर कसैले हिसाबकिताब गरिरहेको उहाँको दाबी छ । तर त्यो विरोधी शक्ति स्वदेशी वा विदेशी भन्ने प्रष्ट नखुलाए पनि ओलीले दुवैतर्फ संकेत गर्नुभयो । ओलीले भन्नुभयो, ‘हामी भन्छौं देशहरू भूगोलमा साना वा ठूला होलान्, जनसंख्यामा ठूला वा साना होलान् तर सार्वभौम सत्ता सबैको बराबरी हुन्छ, उत्तिकै सम्मानित हुन्छ, कतिलाई लाग्छ सानो देशलाई हामीसँग बराबरी गर्न खोज्ने ? अनि प्रहार हुन्छ । हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबर हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन स्पष्ट रूपमा भन्न चाहन्छु ।’

हिंसा वा युद्धलाई समाज परिवर्तनको साधन बनाउन हुँदैन भन्ने पक्षमा आफूहरू रहेको बताउनुभयो । उहाँले जनताको मन जितेर शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ भन्दा प्रहार हुने गरेको बताउनुभयो ।‘हामी विविधता र बहुलता हाम्रो सम्पदा हो भन्छौैं, दूरी बढाउने विषय होइन भन्छौं, विविधतामा एकता हाम्रो मुलमन्त्र हो भन्छौं अनि हामी प्रहार हुन्छ, हामी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो भन्छौं, संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौं, हाम्रो स्वतन्त्रताको प्रयोग, सदुपयोग, सुउपयोग हामी गर्छौं भन्छौं, देशले कस्तो बाटो रोज्ने, कस्तो राजनीतिक प्रणाली बनाउने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौं, कतिलाई मन पर्दैन अनि हामीमाथि प्रहार हुन्छ,’ उहाँले भन्नुभयो ।
सशस्त्र द्वन्द्व, संक्रमणकाल र भूकम्पजस्ता चुनौतीका बीच पनि मुलुकले प्रगती गरिरहेको दाबी गर्दै ओलीले कमजोरी पनि महसुस गर्ने गरेको बताउनुभयो ।

‘मुलुक बन्छ र बन्दैछ भरोसा गर्छौं, निरासा र नकारात्मकता अभियन्ताहरूलाई यो मन पर्दैन अनि फेरि हामीमाथि हमला हुन्छ, हामी कमजोर भयौं भने मात्र नेपालको राष्ट्रिय स्वाधिनता कमजोर हुन्छ भनेर कसैले हिसाब किताब गरिरहेका हुन्छन्, हामी नढलिन्जेल हाम्रो शीर नझुकेसम्म नेपालको स्वाधीनता र स्वाधिमान झुक्त्तैन र ढल्दैन त्यसैले हामीमाथि आक्रमण भइरहेको छ,’ ओलीले भन्नुभयो ।एमालेविरुद्ध लाग्ने विरोधी शक्ति विभिन्न रङमा अगाडि आउने गरेको बताउँदै ओलीले भन्नुभयो, ‘कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर कलर कलरमा, कलर रिभोलुसन भन्दै देखा पर्छन्, तर तिनको उद्देश्य एउटै छ हामीलाई विभाजन गर्ने, हामीलाई दिशाहीन बनाउने ।’
यसलाई प्रष्टाउँदै ओलीले संविधान जारी गर्दा अडान लिँदा पनि तीव्र प्रतिक्रिया जनाउने समूहलाई मन नपरेको बताउनुभयो ।

पारबहन सम्झौता, उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी, सीमा रक्षा, आफ्नै भूभागमाथिको दाबी गर्दा आफ्नो पार्टी प्रहारको निशाना बनेको बताउनुभयो ।विशेष सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरी महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा नेतृत्व चुन्न २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । उनीहरूमध्ये १ सय ८ जना मनोनीत हुन् ।एमालेले नीतिगत विषयमा छलफल गर्न गएको भदौ २० देखि २२ गतेसम्म पार्टीको विधान महाधिवेशन गरेको थियो । त्यसैले यो महाधिवेशन पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नमा मात्रै केन्द्रित रहन्छ ।अध्यक्ष ओलीले आफ्नो नेतृत्वलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ भने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जसपा नेपाल र राप्रपा नेपाललगायतका दलहरूले शुभकामना दिएका छन् । महाधिवेशन पर्सिसम्म चल्नेछ ।

Leave a Reply