अचेल बारा लगायत तराईका जिल्लाहरूमा हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने घटनाहरू बढ्दै गएका छन् । कहिले बस्तीमा पस्ने, कहिले खेतमा अन्न नष्ट गर्ने र कहिले राति निदाइरहेका परिवारमाथि आक्रमण गर्ने मात्रै होइन, सोमवार बिहान त हात्तीले राजमार्गमा गुडिरहेको एउटा ट्रकका चालकको नै ज्यान लिएको छ ।वन्यजन्तु, विशेषगरी हात्ती, मानिसको शत्रु होइनन; उनीहरू पनि बसोबास, पानी र खाना खोज्दै बस्ती वा खुल्ला स्थानमा आउँछन् । तर, मानव र वनबीचको सन्तुलन बिग्रँदा यी घटना भयावह रूपमा बढेका हुन् । जंगली जनावरको आक्रमणका घटनाले जनजीवन असुरक्षित बन्न थालेको छ ।
वन क्षेत्र सुक्दै गएको छ, चरन र पानीका स्रोतहरू घटेका छन्, मानव बस्ती जंगलसम्म फैलिएको छ । सडक, उद्योग र अव्यवस्थित बस्ती विस्तारका कारण हात्तीका प्राकृतिक बाटा अवरुद्ध भएका छन् । हात्तीहरू आफ्नो मार्ग पाउन नसकेर राजमार्ग र बस्तीमा पसेका हुन् । यसलाई केवल “हात्तीको आक्रमण” भनेर दोष थोपर्नु अन्याय हुनेछ । यो त प्रकृतिको चेतावनी हो—मानव अतिक्रमण र पर्यावरणीय असन्तुलनको परिणाम ।
यस समस्याको समाधान केवल वन विभाग वा सुरक्षाकर्मीको जिम्मा होइन । समुदायको सक्रियता र सचेतनाले मात्र स्थायी समाधान सम्भव छ । हात्ती आउने सम्भावित क्षेत्रका गाउँहरूमा “पूर्वसूचना प्रणाली” स्थापना गर्न सकिन्छ—जसअन्तर्गत हात्तीको गतिविधि देखिने बित्तिकै चेतावनी दिने प्रणाली प्रयोग गर्न सकिन्छ । राति बस्ती वरिपरि बल्ब वा बत्ती बलाउने, हात्ती पथमा अवरोध नगर्ने, र स्थानीय स्वयंसेवक समूह गठन गरेर तत्काल प्रतिक्रिया दिने अभ्यास गर्नुपर्छ ।यता, राज्यले पनि हात्ती आवतजावत गर्ने मार्ग सुरक्षित गर्न, वन्यजन्तुको लागि पानी र खाना उपलब्ध गराउन, र पीडित परिवारलाई समयमै क्षतिपूर्ति दिनुपर्छ । दीर्घकालीन रूपमा वन संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वको नीति कार्यान्वयन गर्न जरुरी छ ।
















