सिमरा,विकास निर्माणमा प्रयोग हुने साना औजारहरू सिमरा सेजमा उत्पादन हुन थालेको छ । भारत निर्यात गर्न नेपाल एग्रो टुल्सले सिमरा सेजमा यसै सातादेखि निर्माणजन्य औजार उत्पादन गर्न थालेको हो ।बेल्चा, पिक, तगारी, चापकला लगायतका ८ प्रकारका निर्माणजन्य सामग्रीका साना औजारहरूको उत्पादन केही दिनमै भारतीय बजारमा निर्यात गर्ने पनि सेजले जनाएको छ । सिमरा सेजको ‘ए’ बल्कमा सञ्चालनमा आएको छैटौँ उद्योग एग्रो टुल्सले आफ्ना सबै उत्पादन भारत निर्यात गर्ने कम्पनीका प्रबन्धक अश्विनी कुमारले बताउनुभयो । उत्पादनको ठूलो बजारसँगै खपत पनि उत्तिकै रहने हुँदा भारत निर्यात गरिने उहाँको भनाइ छ ।
उद्योगमा अन्य औजारका उत्पादन कक्षमा परीक्षण उत्पादन थालिए पनि यही साता यता दुई प्रकारको औजार निर्यात योग्य भएपछि धमाधम उत्पादन र प्याकिङ थालिएको हो । हाल २५ प्राविधिक, श्रमिकहरूबाट एक सिफ्टमा उद्योग सञ्चालन भए पनि छठ लगतै दुई सिफ्टमा उत्पादन हुने कम्पनीले जनाएको छ ।पथलैया–वीरगन्ज औद्योगिक कोरिडमा टुल्सको जस्तै औजार उत्पादन गर्ने कृषि औजार कारखाना शिक्षामन्त्री महाबिर पुनको प्रयासमा सञ्चालनमा आएको छ । उक्त कारखानाले उत्पादन गर्ने कृषि औजार बाहेक चार प्रकारका औजार एग्रो टुल्सले उत्पादन गर्ने औजारसँग मेल खाने देखिन्छ ।
सेजभित्र यसै वर्ष उत्पादन थाल्ने गरी ६६ करोड रुपैयाँ लगानीमा केम्याक्स हिमालय प्रालिले कस्मेटिक सामान उत्पादन गर्ने उद्योगको उत्पादन कक्ष सम्पन्न गरेको छ ।चिनियाँ लगानीकर्ताको ९२ करोड रुपैयाँ लगानीमा लि–आयोन र लिड एसिड ब्याट्री तथा ९७ करोडमा इलेक्ट्रिक, इलेकट्रोनिक उपकरण तथा कपर र आल्मुनियम इगो उत्पादन गर्ने उद्योगले चैतसम्म उत्पादन थाल्ने सेजका सहायक इन्जिनियर अजय चौधरीले जानकारी गराउनुभयो ।९ सय ३३ बिगाहा क्षेत्रफल रहेको देशकै ठूलो मानिने सिमरा सेजमा ५ वटा छुट्टछुट्टै ब्लक रहेका छन् । पाँच अर्ब बढीको लगानीमा सम्पन्न ‘ए’ ब्लकमा ३० वटा उद्योगहरू सञ्चालन हुने छन् ।


















